४ सय ७६ हिमाल आरोहणका लागि खुला

काठमाडौँ । सरकारले हुम्लाको असाज्य टुप्पादेखि पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४ सय ७६ हिमाल चुचुरा आरोहणका लागि सरकारले खुला गरेको छ । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल ।
केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ । उपल्लो मुस्ताङका १५ हिमालसहित पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि सरकारले अनुमति खुला गरेको छ ।
पछिल्लो समय हिमाल आरोहण गर्ने उत्साह बढ्दै गएको छ । युवा, अभियानकर्मी सबै हिमाल आरोहणको अनुमप अनुभव बटुल्न चाहान्छन् ।
विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कामका लागि स्थानीय सरकार पहलमा लागेका छन् ।
हिमाल आरोहण गर्ने साहस भने जोकोहीले गर्न सक्छन् । तर यसका लागि निश्चि खर्च र तालिम आवश्यक हुन्छ । हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत ६ हजार मिटर उचाइको हाराहरीको हिमाल चुचुरा आरोहणका लागि ५ देखि ६ जनाको समूहका लागि १५ लाख रुपैयाँ खर्च हुन्छ । उनले भने-“पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छन् । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुन्छ।”
व्यक्तिगत आवश्यक सामग्री ६० हजार रुपैयाँभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टे«निङ लिनुपर्ने हुन्छ ।
ताप्लेजुङ जिल्लामा रहेका ५ हजारदेखि ७ हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ ।
पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ ।
हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।
पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बीमा गर्नुपर्छ ।