पर्यटक र पूर्वाधारको पर्खाइमा ‘छहरे झरना’

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।
अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाइ लम्बाउन छहरे झरनालाई नयाँ गन्तव्य बनाउनुपर्ने होटल व्यवसायीसमेत रहेका पुनले बताए । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन ।
भिरालो पाखोको पैदलमार्गमा हिँड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्दरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ । करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा निलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भीरमौरीको घार (बासस्थान) छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले मह शिकार गर्छन् ।
छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए । छहरे झरना अवलोकन गर्दै तनाव भुलाउन र थकान मेटाउन सकिने उनको भनाइ छ । शान्त र एकान्त वातावरणमा रमाउन पाउनु पनि छहरे झरनाको विशेषता हो ।
झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ ।
झरनाको माथिल्लो भागसम्म कच्ची सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास) को सुविधा छ ।
अन्नपूर्ण गाउँपालिका– ५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरेको बताए । सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग, दृष्य अवलोकनस्थल र विश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले बताए । -रासस