११० फिट अग्लो यलम्बरको पूर्ण कदको प्रतिमासहित पार्क निर्माण

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्च दोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो ।
माझ किराँतका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब १४ करोड रुपैयाँ लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा-तुवाचुङ-अनसुवी जेभीले ठेक्का लिई निर्माण गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रस्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्ट फुड सेवा उपलब्ध हुने बताइएको छ ।