यार्तुङ पर्व मनाइँदै

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको हो । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै यहाँको खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । घोडा चढ्नुपर्ने प्रचलन रहेको यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको छ ।
यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किने गरिन्छ । पर्वका क्रममा खिङ्गा गाउँबाट दर्जनै घोडाको लस्करले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरेको थियो ।
खिङ्गा गाउँका युवाहरूले मुक्तिनाथ स्थित पुराण रानीपौवामा साहसिक रुपमा घोडा दौडाएका थिए । रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत समेत प्रस्तुत गरिएको छ ।
बर्खायाममा उवा र जौ लगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबारी छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ ।यार्तुङ पर्वको बेला यहाँका स्थानीय नागरिकहरू फुर्सदिला हुन्छन् ।
यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदिंयौ देखि मनाइने गरिएको हो । खिङ्गा गाउँबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमश सबै स्थानमा गुरुङ, बिष्ट र लोवा समुदायले मनाउँने प्रचलन छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरक फरक तिथिमा यार्तुङ पर्व मनाईने गरिएको छ ।