मौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी

२०८२ भाद्र १० गते, मंगलवार

काठमाडौँ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ। कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ। पछिल्लो समय यो क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले जानकारी दिए। यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उनले बताए। यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधा दिन सके धरै पर्यटक प्राकृतिक सुन्दरतामा घुम्न आउने सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए। तर अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ।
स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायको भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ। तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ।
यो पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्रfकृतिक सुन्दरताको आनन्द लिनसक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी सङ्कलन गर्दै आएका व्यवसायी मिक्वाखोला- ४ साँवा गाउँका मिलन लिम्बूले बताए।

एक दिनमा सदरमुकाम फुङ्लिङबाट यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ। त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेहरू एक दिन र अलि विस्तारै हिँड्ने पर्यटक दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन्। पर्यटक लोदेनमा रहेका पोखरीको अवलोकन गरेर तोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताए। तर लोदेन हुँदै तोक्पेगोला जान त्यति सहज बाटो नभएको लिम्बूले बताए। पाँच हजार ५०० मिटर उचाइ अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकाले लेक लाग्ने साथै बाटो निर्माण नभएकाले स्थानीयको सहायता चाहिने गरेको लिम्बूले बताए। उच्च हिमाली क्षेत्रमा भएकाले बाह्रै महिना हिउँ जमेर रहेकाले बाटो चिप्लो हुने जोखिम रहेको लिम्बूले बताए।
विगतमा यहाँका तस्विर, सामान्य भिडियो सामाजिक सञ्जालमार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका- ५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। शेर्पाका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरी छन्। तर यस पोखरीको वैज्ञानिक अनुसन्धन हुन बाँकी रहेको शेर्पाले बताए। शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ। पोखरी तथा तालसम्बन्धी विज्ञको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जिपीएस मापनजस्ता काम गर्ने योजना छ।
यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पा जानकारी दिए। मानवले क्षति नपुर्‍याएसम्म यहाँका पोखरी आफैँमा संरक्षित रहने उनले बताए। उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ। पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ। -रासस

प्रतिक्रियाहरु

[anycomment]