हिमाल आरोहण शुल्क बढ्यो

काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण शुल्क बढाएको छ। विभागले पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको जनाएको छ। जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको छ।
विभागका निर्देशक हिमाल गौतमले सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क बढेको जानकारी दिए।
सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको उनले बताए। बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ। त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ। हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो।
त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ।
त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ। शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ।
सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ। हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ। त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल
आरोहणका लागि एक हजार, पाँच सय र २५० अमेरिकी डलर तोकिएको छ। हालसम्म यो दर छ सय, तीन सय र १५० अमेरिकी डलर रहेको छ।
विभागका अनुसार सात हजारदेखि सात हजार पाँच सय मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न आठ सय, चार सय र दुई सय डलर पुर्याइएको छ। हाल यो उचाइको हिमाल चढ्न पाँच सय, २५० र १२५ डलर लाग्दै आएको छ।
त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि पाँच सय, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। अहिले ती हिमाल आरोहण गर्न चार सय, दुई सय र एक सय अमेरिकी डलर लाग्ने गरेको छ। छ हजार पाँच सय मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्याइएको छ। हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियाे।