सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक भित्रिए

२०८२ आश्विन २२ गते, बुधबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा नेपाल भित्रिने कुल पर्यटक संख्या ७८ हजार ७११ मात्र रहेको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक नेपाल आएका थिए।
पर्यटन बोर्डका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएको हिंसा र अशान्तिले नेपालको छवि बाहिरी विश्वमा नकारात्मक रूपमा पुगेको छ। विशेषगरी आन्दोलनपछि विदेशी सञ्चारमाध्यमहरूले नेपाललाई असुरक्षित गन्तव्यको रूपमा चित्रण गरेपछि पर्यटक आगमन घटेको अनुमान गरिएको छ।
तथ्यांकअनुसार दक्षिण एसियाली देशहरूबाट आउने पर्यटक संख्यामा सबैभन्दा ठूलो कमी आएको छ। सन् २०२५ को सेप्टेम्बरमा दक्षिण एसियाबाट २४ हजार २८५ पर्यटक आएका छन्, जुन सन् २०२४ को ३३ हजार ६११ को तुलनामा २७.७ प्रतिशत ले घटेको हो।
त्यस्तै एसियाका अन्य मुलुकहरूबाट १२ हजार ५९० पर्यटक मात्र आएका छन्, जबकि अघिल्लो वर्षको सोही अवधिमा १८ हजार ९८९ पर्यटक आएका थिए। यो ३३.७ प्रतिशत गिरावट हो।
युरोपबाट आउने पर्यटक संख्यामा पनि कमी देखिएको छ। सन् २०२५ को सेप्टेम्बरमा १६ हजार ५९७ युरोपेली पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको १८ हजार ५० को तुलनामा ८ प्रतिशत ले घटेको हो।
अमेरिकी बजारमा पनि नकारात्मक प्रभाव परेको छ। सन् २०२५ को सेप्टेम्बरमा अमेरिकाबाट ११ हजार ५२३ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा १२ हजार १४९ आएका थिए। यो ५.२ प्रतिशत को कमी हो।
त्यस्तै मध्यपूर्वबाट २ हजार ३२८ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको २ हजार ५८८ को तुलनामा १० प्रतिशत ले घटेको हो। अफ्रिकी मुलुकहरूबाट भने २५.१ प्रतिशत गिरावट आएको छ—सन् २०२५ मा ३४४ पर्यटक मात्र आएका छन्, अघिल्लो वर्ष ४५९ थिए। अन्य मुलुकहरूबाट पनि १८.३ प्रतिशत ले आगमन घटेको देखिन्छ।
जेनजी आन्दोलनको नकारात्मक प्रभावबीच ओसेनिया क्षेत्रबाट भने आशाजनक परिणाम देखिएको छ। सन् २०२५ को सेप्टेम्बरमा ओसेनियाबाट ७ हजार ३१४ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा यो संख्या ५ हजार ५०८ थियो। यो ३२.८ प्रतिशत को वृद्धि हो।
सन् २०२५ को अगस्ट महिनामा भने नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको थियो। पर्यटन बोर्डका अनुसार त्यस महिनामा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत वृद्धि थियो।
अगस्टमा भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक आएका थिए। तर, सेप्टेम्बर सुरु हुनासाथ जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको असुरक्षा भावना, अन्तर्राष्ट्रिय मिडियामा आएको नकारात्मक समाचार र आन्तरिक राजनैतिक अनिश्चितताका कारण नेपाल आउने पर्यटकहरूको मनोविज्ञानमा ठुलो प्रभाव परेको छ।
नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) ले एकै स्वरमा पर्यटन घट्नुको कारण नकारात्मक प्रचार र सुरक्षा जोखिम भएको बताएका छन्।
हानका अनुसार, नेपालमा हालको अवस्था स्थिर भए पनि बाहिरका मिडियाले गलत सन्देश पठाइरहेका छन्। अब नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन हामीले सक्रिय कूटनीतिक र प्रचारात्मक अभियान चलाउनै पर्छ।
नाटाका पदाधिकारीहरूले पनि सरकारलाई आन्तरिक स्थिरता कायम राख्न र पर्यटनलाई प्राथमिक क्षेत्रको रूपमा सम्बोधन गर्न सुझाव दिएका छन्।
सन् २०२५ का पहिलो आठ महिनामा नेपालमा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन्। यो अघिल्लो वर्षको तुलनामा सामान्य सुधार भए पनि सेप्टेम्बर महिनाको गिरावटले आगामी पर्यटन सिजनमा ठूलो चुनौती सिर्जना गरेको देखिन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु