मनाङमा डेढ महिनामा ७ हजार ४६१ पर्यटक भित्रिए​​​​​​​

२०८२ कार्तिक ३ गते, आईतवार

काठमाडौँ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले डेढ महिनामा मनाङमा साढे ७ हजार बढी पर्यटक भित्रिएको जनाएको छ । एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले डेढ महिनामा ७ हजार ४६१ पर्यटकको आगमन भएको जानकारी दिए ।
उनका अनुसार याम सुरु भएपछि इजरायलका १ हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ जनाले मनाङ अन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् । गुरुङले भने – ‘ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ।’
हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसी सहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु