एकैदिन ६ हजार ३९३ जनाले गरे पाथीभराको दर्शन
काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार (कात्तिक ८) यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । शनिबार एकैदिन ६ हजार ३९३ भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभरि नै भक्तजनको आगमन हुने गरेको छ । तर, विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । यसपछि चैते दसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।
समितिका अनुसार, गएको असोजमा २९ हजार १७४ भक्तजनले मन्दिरको दर्शन गरेका थिए । आइतबार (कात्तिक ९) पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।- रासस
