बाघ गणना सुरु

२०८२ पुष १ गते, मंगलवार


काठमाडौँ । आजदेखि बाघ गणना सुरु हुँदै छ । नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट अनुसार गर्न लागेको बाघ गणना तीन महिनासम्म चल्ने छ । बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा बाघ गणना हुने गर्दछ । सोही अनुसार आज पुस १ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु हुन लागेको हो ।
चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लाझाडी क्षेत्रमा बाघ गणना हुनेछ । त्यसका लागि विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ३ ब्लक, बाँके र बर्दियालाई ४ ब्लक र शुक्लाफाँटा तथा लालझाडीलाई १ ब्लकमा विभाजन गरिएको छ । बाघ गणनाका लागि एउटै ब्लकमा दुई सयदेखि साढे दुई सय वटासम्म अटोमेटिक क्यामेरा जडान गरिएको छ ।
प्राविधिकहरुका अनुसार बाघ हिँड्ने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ । क्यामेरा अगाडि बाघ आउँदा अटोमेटिक फोटो खिचिन्छ । फोटोमा देखिएको बाघको पाटा हेरेर बाघको संख्या पत्ता लगाइन्छ । किनकि एउटा बाघको पाटा अर्को बाघको पाटासँग मिल्दैन ।नेपालमा पछिल्लोपटक सन् २०२१ मा बाघ गणना भएको थियो । त्यसको नतिजा सन् २०२२ मा सार्वजनिक भएको थियो । त्यतिबेला नेपालमा ३ सय ५५ वटा बाघ रहेको निष्कर्ष निकालिएको थियो । सबैभन्दा धेरै चितवनमा १ सय २८ ,बर्दिया १ सय २५, पर्सामा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ वटा बाघ रहेको नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु