यस्तो छ- पशुपतिमा महाशिवरात्रिका दिन ट्राफिक व्यवस्थापन

२०८२ फाल्गुन २ गते, शनिबार


काठमाडौँ । पशुपतिमा महाशिवरात्रिका दिन देश–विदेशबाट आउने भक्तजनको चापलाई मध्यनजर गर्दै सरसफाइ, रङरोगन र व्यवस्थापनका काम तीव्र गतिमा सम्पन्न गरिएको हो। मन्दिर परिसरमा साधु–सन्तहरूको बाक्लो उपस्थिति भइसकेको छ भने दर्शनार्थीको आगमन पनि क्रमशः बढ्दो छ।
पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले विशेष ट्राफिक तथा सुरक्षा योजना सार्वजनिक गरेको छ। भक्तजनलाई सहज रूपमा आवतजावत र दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन सुदृढ गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक व्यवस्थापन र डाइभर्सन योजना
दर्शनार्थीको चाप अत्यधिक हुने अनुमान गर्दै गौशाला क्षेत्र हुँदै चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएमा मात्र गौशालामा सवारी आवागमन निषेध गरिने र वैकल्पिक मार्ग प्रयोग गरिने जनाइएको छ।
चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सामान्य अवस्थामा निर्वाध रूपमा सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। तर भीड अत्यधिक भई सवारी आवागमनमा समस्या आएमा आवश्यकतानुसार डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई आवश्यकता अनुसार निषेध गरिनेछ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीलाई गुहेश्वरीपारि पार्किङको व्यवस्था गरिएको छ।
यदि गौशाला चोकमा अत्यधिक भीडका कारण सवारी सञ्चालन अवरुद्ध भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतिदेवी मोड हुँदै रातोपुल, तथा सिफल चौरबाट जय बागेश्वरीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गराइनेछ।
यस्तो छ पार्किङ व्यवस्था
महाशिवरात्रि अवसरमा विभिन्न स्थानमा निम्नानुसार पार्किङको व्यवस्था गरिएको छ–
सिफल चौर – दर्शनार्थीका सवारी, पासवाहक सवारी र सुरक्षाकर्मीका सवारी।
गुहेश्वरीपारि क्षेत्र – तीर्थयात्री तथा दर्शनार्थीका सवारीसाधन।
पशुपति विकास कोष कार्यालय/भण्डारखाल – पासवाहक सवारीसाधन।
तिलगंगा आँखा अस्पताल र करिडोर क्षेत्र – तीर्थयात्री, दर्शनार्थी तथा पर्यटकका सवारीसाधन।
वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघ–संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी।
प्रहरी वृत्त गौशाला – पासवाहक र सरकारी सवारीसाधन।
प्रशासनले सर्वसाधारणलाई सार्वजनिक सवारी साधनको प्रयोग गर्न आग्रह गरेको छ। साथै, ट्राफिक प्रहरीको निर्देशन पालना गरी धैर्यतापूर्वक आवतजावत गर्न अनुरोध गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]