मान्छेमा पनि बर्डफ्लु

२०७० बैशाख १ गते, आईतवार


बेइजिङ– एक सात वर्षीया बालिकामा ‘एचसेभेनएननाइन बर्ड फ्लु’ फेला परेपछि यस नगरमा मानवबाट मानवमा सर्ने यस रोगको यी बालिका पहिलो शिकार भएको देखिएको अधिकारीहरूले बताएका छन् । यसरी चीनको राजधानीमा यो रोग फैलन थालेको देखिएको छ । यी बालिकाका आमाबाबु कुखुराका व्यापारी हुन् र उनी हाल अस्पतालमा स्थिर अवस्थामा रहेको बेइजिङ स्वास्थ्य विभागले जानकारी दिएको छ । उनका आमाबाबुलाई परीक्षणका लागि अस्पतालमा पृथक रूपमा राखिएको र उनीहरूमा यस रोगको कुनै सङ्केत नदेखिएको बताइएको छ । यी बालिकाको घाँटी खस्खसाउन तथा उनमा ज्वरो आउन तथा टाउको दुख्न थालेपछि उनलाई बिहीबार अस्पताल लगिएको थियो । उनमा गरिएको परीक्षणपछि उनमा ‘एचसेभेनएननाइन’ फेला परेको थियो । यसलाई चीनको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले पुष्टि गरेको छ । दुई साताअगाडि चिनियाँ अधिकारीहरूले ‘एचसेभेनएननाइन’को सङ्केत मानवमा देखिएको बताएका थिए । चीनमा यस रोगले ४४ व्यक्तिलाई सङ्क्रमण गरेको देखिएको छ भने तीमध्ये ११ को मृत्यु भइसकेको छ । चीनको पूर्वी भागमा देखिएका रोगीका सङ्ख्यालाई पनि पुष्टि गरिएको छ ।
विशेषज्ञहरूले यस्ता भाइरसको स्वरूप परिवर्तन तथा मानवमा सजिलै सर्नसक्ने अवस्थामा महामारी फैलनसक्ने सम्भावना भएको बताएका छन् । यसै साता विश्व स्वास्थ्य सङ्गठनले भने मानवबाट मानवमा सर्ने ‘एचसेभेनएननाइन’को प्रमाण फेला नपरेको बताएका थिए ।
स्वास्थ्य अधिकारीहरूले यी विषाणु कसरी फैलिरहेको छ भन्ने आफूहरूलाई थाहा नभएको बताएका छन् । उनीहरूले चीनको निकै सहरमा ठूलो सङ्ख्यामा कुखुरा मार्न थालिएपछि चराबाट मानवमा यो रोग फैलिएको विश्वास गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले मानवमा सर्ने ‘एचसेभेनएननाइन’ले कुखुरालाई भने प्रभाव नपार्ने बताएका छन् । यसरी यो भाइरस मानवमा कसरी स¥यो भन्ने कुरा पत्ता लगाउने अझै कठिन भएको छ । यी बालिका उपचार भइरहेको डिटान अस्पतालका उपनिर्देशक चेङ जुनले साङघाइमा यो रोग देखिएपछि आफूहरूले तयारी गरिरहेको बताए ।
बेइजिङको जनसङ्ख्या दुई करोड रहेको छ र यहाँ कुखुरा व्यापार तथा परेवा उडाउने कार्यमा प्रतिबन्ध लगाइएको छ । अधिकारीहरूले जङ्गली चरा बेइजिङमा आउने कुरामा सतर्कता अपनाउन तथा कुखुरापालक, ढुवानीकर्ता तथा व्यापारीमा निगरानी गर्न आदेश दिएका छन् ।
साङघाइमा यस्ता विरामीको सङ्ख्या २० पुगेको छ र यहाँ गत साता पहिलोपटक कुखुरा व्यापारमा प्रतिबन्ध लगाइएको छ । यस्तै व्यवस्था चीनका पूर्वी भागका अन्य नगरले पनि गरेका छन् । यसबीच केएफसी तथा याम ब्रान्ड्सले व्यापार घाटा ब्यहोर्न थालेका छन् । सन् २००३ मा स्वास प्रस्वासमा लाग्ने रोग, सार्स फैलदा बेइजिङले यस्तो सूचना लुकाएको आरोप लगाइएको थियो । उक्त रोगका कारण विश्वभर ८०० व्यक्तिको मृत्युभएको थियो ।
यसपटक ‘एचसेभेनएननाइन’ का सूचना सार्वजनिक गरेकोकोमा विश्व स्वास्थ्य सङ्गठनले स्वागत गरेको छ । चीनले यस रोगविरुद्ध खोप सात महिनामा तयार हुने अपेक्षा गरेको छ भने अमेरिकी विशेषज्ञहरूले यसका लागि महिनौँ लाग्ने बताएका छन् । एएफपी

प्रतिक्रियाहरु

[anycomment]