अमेरिकाले अफगानिस्तानलाई घुस दिएको खुलासा

२०७० बैशाख १७ गते, मंगलवार


काठमाडौं,– अमेरिकाले अफगानिस्तानलाई आफ्नो प्रभावमा पारिरहन ठूलो परिमाणमा घुस दिंदै आएको खुलासा भएको छ ।अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले एक दशकभन्दा बढी समयदेखि अफगानी राष्ट्रपति हमिद कारजाइको कार्यालयमा करोडौं डलर उपलब्ध गराउने गरेको न्युयोर्क टाइम्सले खुलासा गरेको छ ।
सिआइएले हरेक महिना अफगान राष्ट्रपतिको कार्यालयमा अमेरिकी डलरले भरिएका सुटकेस, ब्याग र प्लाष्टिकका हातेझोला हवाई जहाजको माध्यमबाट खसाल्ने गरेको कारजाइका सल्लाहकारले बताएका न्यूयोर्क टाइम्सले दावी गरेको छ ।
‘हामी यसलाई छद्म धन भन्छौं’ कारजाइका सल्लाहकार खालील रोमनले भन्नुभयो ‘यो पैसा गोप्य रुपमा नै आउँछ र गोप्य नै राखिन्छ ।’सिआइएले यसअघि पनि कारजाइका आफन्त र नजिकका सहयोगीलाई रकम दिंदै आएपनि उनको कार्यालयका लागि नै रकम आएको खुलासा हुँदा अफगान सरकारको कामकारवाहीमा सिआइएको प्रभावलाई प्रष्ट्याएको समाचारमा उल्लेख छ ।सिआइएले यसका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । केही अमेरिकी अधिकारीले अमेरिकाले दिने रकमका कारण अफगानिस्तानमा भ्रष्टाचारलाई बढावा पुगेको टिप्पणी गरेका छन् । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]