१७ दिनपछि जीवितै उद्धार

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत अप्रिल २४ मा भत्किएको एक भवनबाट शुक्रबार एक महिलालाई जीवितै फेला पारिएको छ । भवन भत्केको १७ दिनपछि फेला पारिएको ती महिलाको नाम रेश्मा भएको बताइएको छ । भग्नावशेषमा भेटिएकी ती महिलालाई खासै ठूलो चोट लागेको छैन । उनलाई खाना र पानी दिइएको छ ।
उद्धारमा खटिएको टोलीले उनलाई खम्बा र बीमको बीचमा फेला पारेको थियो । त्यसपछि उद्धार कार्यलाई तीब्र बनाएको थियो । महिलाको आवाज सुनेपछि उद्धार कार्य अघि बढाइएको थियो । शुक्रबार विहानसम्म भग्नावशेषबाट एक हजार ३५ जनाको शव निकालिइसकेको छ । सो भवनमा सो दुर्घटना भएको समयमा कम्तीमा पनि तीन हजार नागरिक तथा मजदुरहरु रहेको बताइएको थियो ।
ती मध्ये दुई हजार ४३७ जनाको भने सुरुमै उद्धार गरिएको थियो । सो भवनमा अझै पनि उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सो भवन भत्किएको विषयमा सरकारी एक उच्च टोलीले अनुसन्धान थालेको छ । प्रारम्भिक रुपमा सो छानबिनबाट भत्किएको भवन कारखानाका लागि तयार नगरिएको पाइएको छ । सो भवन कारखानाका लागि नभएर अन्य व्यापारिक प्रयोजनका लागि तयार गरिएकोले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको सो समूहमा कार्यरत एक इञ्जिनियरले जानकारी दिएका छन् । यसै अनुसन्धानको क्रममा प्रहरीले भवनका मालिक सहेल राना र चार गार्मेटका संस्थापकलागायत १२ व्यक्तिलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।
बंगलादेशमा गत नोभेम्बरमा एक गार्मेट भवनमा भएको आगलागीमा परी १ सय ११ व्यक्तिको मृत्यु भएको थियो । त्यहाँ यस्ता घटना निकै हुने गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]