दाइजोमा पुरानो ट्युव
काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा पर्ने बारंगल जिल्लाको एउटा गाउँमा छोरीको विहेमा दाईजोको रूपमा पुरानो ट्युव अनिवार्य दिनुपर्ने अनौठो चलन छ । भारतीय संचार माध्यमहरूका अनुसार विहेमा अरु दाइजो दिए नदिएको कुराले खासै महत्व राख्दैन । ट्रकको टायरमा लाग्ने पुरानो ट्युब भने अनिवार्य छ । यसको कारण हो स्थानीय मंगलथाडा गाउँमा जान पुल नहुनु । नदिपारीको आदिवासी गाउँबाट हरेक सामान लिन बाट्टेबागु नदी तर्नुपर्ने हुन्छ । त्यही दाइजोमा आएको ट्युव चढेर गाउँले नदी वारपार गर्नेगर्छ । विहेमा दिइएको एउटा ट्युब छोरी र अर्को ट्युब ज्वाइँले प्रयोग गरे दुबैजना सुरक्षित रहन्छन् भन्ने मान्यता छ । नदी तरेर जानुपर्ने र अर्को विकल्प प्रयोग गर्दा घण्टौँ समय लाग्ने भएकोले मंगलथाडा गाउँमा सरकारी अधिकारी र कुनै विकासे संस्था पुगेका छैनन् । गाउँमा दर्ुइ कक्षा पढ्ने स्कुलबाहेक अस्पताल, बैंकलगायतका कुनै पनि सुविधा छैनन् । गाउँका एक युवा भन्छन्, ट्युव दाइजोविना त विहेको कल्पना समेत हुँदैन । बजारमा नयाँ ट्युबको मूल्य करिब १५ सय पर्छ भने पुरानो ट्युब भने पाँच सयमै पाइन्छ । मंगलथाडा गाउँका घरहरूमा चर्पी त छैन तर हरेक घरमा ट्युव भने राखिएका छन् ।