पाकिस्तानकी महिला नेतृ हुसैनको हत्या

२०७० जेष्ठ ५ गते, आईतवार

पाकिस्तानकी महिला नेतृ जाहरा शाहिद हुसैनको हत्या भएको छ । तहरिक ए ईन्साफ पार्टीकी वरिष्ठ उपाध्यक्ष हुसेनलाई शनिबार राति कराँचीमा उहाँको घरबाहिर गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।टाउकोमा गोली लागेकी हुसेनको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । उहाँमाथि मोटरसाईकलमा रहेका तीन जना व्यक्तिले गोली हानेका थिए ।लुटपाट गर्ने उद्देश्यले हुसैनको हत्या भएको हुनसक्ने आशंका गरिएपनि हत्याको कारण खुल्न सकेको छैन ।
तहरिक ए ईन्साफका अध्यक्ष ईमरान खानले हुसेनको हत्यामा मुत्ताहिद क्वामी मुभमेन्ट एमक्यूएम जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । एमक्यूएमका प्रमुख अल्ताफ हुसैनले खुला रुपमा आफ्ना नेता र कार्यकर्तालाई धम्क्याउने गरेको भन्दै उहाँले जाहरा हुसैनको हत्यामा अल्ताफकै प्रत्यक्ष संलग्नता रहेको दावी गर्नुभएको हो ।
एमक्यूएमका नेता डा. फारुख सत्तारले ने ईमरानको बयान राजनीतिक रुपमा अपरिपक्व भन्दै निन्दा गर्नुभएको छ । कराँचीमा आमनिर्वाचनका क्रममा तहरिक ए ईन्साफ र एमक्यूएमबीच तनाव बढेको छ ।एमक्यूएमले चुनावमा धाँधली गरेको र आफ्ना कार्यकर्तालाई धम्क्याएकाले चुनाव प्रभावित भएको भन्दै खानले फेरी चुनाव गर्न माग गरेपछि आज केही क्षेत्रमा मतदान हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]