म्यानमारमा साम्प्रदायिक हिंसा चर्कियो
म्यानमारमा फेरी साम्प्रदायिक हिंसा चर्किएको छ । उत्तरपूर्वी शान राज्यको लाशिओमा मुस्लिम र बौद्ध समुदायबीच हिंसात्मक झडप भएको हो ।बौद्ध धर्म मान्ने महिलामाथि पेट्रोल छर्केर आगो लगाएको हल्ला फैलिएपछि भएको झडपका क्रममा एउटा मस्जिद, स्कुल र मुस्लिम नागरिकले सन्चालन गरेको पसलमा आगजनी भएको बिबिसीले जनाएको छ ।घटनापछि प्रशासनले नगरमा कर्फ्यू जारी गरेको छ । महिलामाथि आगो लगाउने व्यक्ति मुस्लिम समुदायको भएको बौद्ध समुदायले आरोप लगाएपनि मुस्लिमहरुले भने आगलागीमा आफ्ना समुदायको कसैको पनि हात नरहेको दावी गरेका छन् ।
स्थानीय प्रहरीले महिलामाथि आगो लगाउने व्यक्तिलाई पक्राउ गरेको बताएपनि थप विवरण भने सार्वजनिक गरेको छैन । म्यानमारमा गएको वर्षदेखि साम्प्रदायिक हिंसा भड्किएको हो ।
पश्चिमी राखिने राज्यमा पटक पटक चर्किएको हिंसाका कारण अहिलेसम्म २ सय भन्दा बढीको ज्यान गइसकेको छ भने डेढलाख भन्दा बढी मुस्लिमहरु विस्थापित भएका छन् । हिंसाका कारणमध्ये म्यानमारका धेरै नगरहरु प्रभावित छन् ।