सरिफ तेस्रो पटक प्रधानमन्त्री
इस्लामाबाद, २२ जेठ– पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग– एन पार्टीका अध्यक्ष नवाज सरिफले आज बुधबार प्रधानमन्त्री कार्यालयमा तेस्रो पटक प्रधानमन्त्रीको पद बहाली गर्दैछन् । सन् १९९० मा पहिलो पटक प्रधानमन्त्री बनेका र सन् १९९९ सैनिक विद्रोहबाट हटाइएका ६३ वर्षीय सरिफले मुलुकमा निकै ठूलो चुनौती भोगेको तर तिनीहरुलाई समाधान गर्न सकिने बताएका छन् । गत ११ मेमा सम्पन्न आमनिर्वाचनमा पीएमएल–एन पार्टीले संसदको तल्लो सभाको ३ सय ४२ स्थानमा १ सय ७६ स्थान प्राप्त गरेको छ । यसअघिको सत्ताधारी पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान प्राप्त गरेको छ । भारतबाट १९४७ मा स्वतन्त्र भएको १८ करोड जनसंख्यायुक्त पाकिस्तानमा ६६ वर्षको इतिहासमा प्रजातान्त्रिक रुपमा निर्वाचित नागरिक सरकारबीच पहिलोपटक औपचारिक रुपमा शक्ति हस्तान्तरण गराएको छ । यस मुलुकको इतिहासको प्रायः समय सैनिक विद्रोह तथा अन्य राजनीतिक उथलपुथलका कारण निर्वाचित सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएका थिएनन् । यसैगरी पाकिस्तान पिपुल्स पार्टीको सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्नसक्नु पनि उपलब्धि बनेको छ । पाकिस्तानमा नवनिवार्चित सरकारको अगाडि २० घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने व्यापक ऊर्जा कमी, नराम्रोसँग कमजोर भएको अर्थतन्त्र, तालिवान तथा अन्य कट्टरपन्थीको निरन्तर क्रियाकलाप जस्ता चुनौती विद्यमान छन् । एएफपी