भाजपा र जेडीयूको गठबन्धन टुट्यो

२०७० असार ३ गते, सोमबार

काठमाडौं,३ असार– भारतमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीबीचको १७ वर्ष लामो गठबन्धन टुटेको छ । सन् २०१४ को लोकसभा निर्वाचन तयारी अघि बढिरहेका बेला जनता दल युनाइटेडले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएबाट अलग भएको घोषणा गरेको हो । भारतीय जनता पार्टीले केन्द्रीय चुनाव प्रचार समितिको अध्यक्षमा नरेन्द्र मोदीलाई चयन गरेपछि विवाद बढेको थियो । उसले मोदीको नाम फिर्ता लिन पनि आग्रह गरेको थियो । जनता दल युनाइटेड जेडीयूले मोदीलाई हिन्दू अतिवादी र साम्प्रदायिक सोंच राख्ने व्यक्ति भन्दै आएको छ । जनता दल युनाइटेडका अध्यक्ष एवं एनडीएका संयोजक शरद यादवले आफ्नो पार्टी एनडीएबाट अलग भएको र आफूले संयोजक पद छाडेको घोषणासमेत गरेका छन् । उनले भनेका छन्, ‘भारतीय जनता पार्टी समझदारीविपरीत चलेकाले अब एनडीएमा बस्नुको औचित्य छैन, त्यसैले राजिनामा दिएको हुँ,’ उनले भनेका छन्, ‘‘एनडीए राष्ट्रिय मुद्धाबाट बाहिर गयो । त्यसैले यसमा बस्नु सम्भव भएन, अब भाजपा र हाम्रो बाटो अलग भयो ।’ एनडीएबाट अलग भएसँगै विहारका मुख्यमन्त्री एवं जनता दल युनाइटेडका नेता नीतिश कुमारले राज्य सरकारमा रहेका भाजपाका ११ जना मन्त्रीलाई बर्खास्त गर्न राज्यपाल समक्ष सिफारिस गरेका छन् । आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने भन्दै नीतिश कुमारले भाजपासँगको गठबन्धन तोडेको बताए । मुख्यमन्त्री नीतिश कुमारले सरकारले बुधबार संसदमा विश्वासको मत लिने घोषणासमेत गरेका छन् । २ सय ४३ सदस्यीय विधान सभामा जेडीयूको १ सय १८ सांसद छन् । भाजपासँग विहारमा सत्ता साझेदारी गरेको जेडीयूलाई सरकार जोगाउन मात्र ४ मत आवश्यक छ । तर मुख्यमन्त्री नीतिश कुमारले आफूलाई परिणामको कुनै चिन्ता नभएको दावी गरेका छन् । तर भाजपाको विहार राज्यका नेता सुशील मोदीले जेडीयूले जनतालाई धोका दिएको भन्दै गठबन्धन टुटेको आरोप लगाए । उनले आइतवारको दिन कालो दिन भएको समेत बताए । गठबन्धन टुटेको विरोधमा भाजपाले मंगलवार विहार बन्दको घोषणा गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]