१५ तलाबाट हामफाले पनि सकुशल
बेलिङटन, – एक ब्रिटिस पुरुष न्युजिल्यान्डमा रहेको १५ तले घरबाट हामफाल्दा पनि सकुशलै रहन सफल भएका छन् । ब्रिटिस नागरिक टोम स्टिलवेल अक्लेन्डमा रहेको आफ्नो छिमेकीको बाल्कोनीबाट हामफालेर पनि खासै घाइते नभएका हुन् । आफ्नो छिमेकीको घरबाट सीधा तल उनको बाल्कोनी रहेको थियो जसलाई लक्षित गरी उनी हामफालेका थिए । उनका साथीहरूले टोमका केही हड्डी भाँचिएको र शरीरभित्र चोट लागेको बताएका छन् । तर, उनी ‘सामान्य’ र ‘ज्यादै भाग्यमानी’ भएको पनि उनले बताए । आफ्नो बिदा मनाउने क्रममा २० वर्षीय टोम न्युजिल्यान्ड गएका थिए । आइतबार बिहानै आफू आफ्नो फ्ल्याटबाहिर थुनिएको थाहा पाएपछि टोमले छिमेकीलाई उनीहरूको बाल्कोनीबाट आफ्नो घरको कम्पाउन्डमा हामफाल्न आग्रह गरेको उनका साथीले बताएका छन् । एकजना छिमेकी जिरल्डाइन बाउटिस्टाका अनुसार टोम अलिक उत्तेजक तर नम्र मिजासका छन् । ‘म उसलाई देखेर कति पनि डराइन, उसले आफूलाई मेरो बाल्कोनी प्रयोग गर्न अनुरोध गरिरहेको थियो,’ ती छिमेकीले भने, ‘उसले साँच्ची नै गर्ला भनेर त मैले सोचेको पनि थिइनँ । कसरी झर्लास् त भनेर मनमनै गमिरहेको थिएँ म । तर, सोच्दा सोच्दै उसले हामफालिसकेको रहेछ । उसले निकै डरलाग्दो काम ग¥यो ।’ उनलाई गम्भीर चोटपटक नलागे पनि उनी हामफालेको थर्कनले नजिकैको घरको छाना भाँचिएको पनि समाचारमा बताइएको छ । आपतकालीन स्वास्थ्य उपचार संगठन सेन्ट जोनका निर्देशक टोनी स्मिथले कुनै पनि व्यक्ति गगनचुम्बी महलबाट हामफाल्दा व्यक्तिको चोटले छाना भाँचिएमा बाँच्ने प्रबल सम्भावना रहेको बताए । ‘तर, निकै अग्लो स्थाबाट खसेर बाँच्नु निकै असामान्य घटना हो,’ उनले भने ।-
एजेन्सी