इजिप्टमाको आन्दोलनमा सातको मृत्यु

२०७० असार १९ गते, बुधबार

काठमाडौं, १९ असार– इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीलाई सत्ताबाट हटाउन विपक्षीले गरेको आन्दोलनका क्रममा कम्तीमा सात जनाको मृत्यु भएको छ । दजैनौं घाइते भएका छन् । तीन दिनदेखि जारी प्रदर्शनमा हजारौं मानिस सहभागी भइरहेको र त्यसले कुनै पनि बेला हिंसात्मक रुप लिने अनुमान गरिएको छ । प्रदर्शनकारीले मुर्सीले सत्ता छाड्नुपर्ने माग गरेका छन् । यद्यपि, मुर्सीले भने आफू जनताबाट निर्वाचित भएकाले कुनै पनि हालतमा सत्ता नछाड्ने स्पष्ट पारेका छन् । इजिप्टमा स्थिरता कायम गर्ने हो भने मुर्सीलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने सत्तापक्षको जिकिर छ । उता, सेनाले पनि मुर्सीलाई ४८ घण्टाभित्र संकटको समाधान खोज्न हिजो मंगलबार अल्टिमेटम दिएको थियो । मुर्सीले भने सेनालाई अल्टिमेटम फिर्ता लिन निर्देशन दिँदै सेनाको चेतावनी मान्य नहुने बताएका छन् । सेनाले राष्ट्रपतिलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । सेनाले देश सञ्चालन गर्न खाका नै तयार गरेको बीबीसीले जनाएको छ । जसअनुसार तत्काल राष्ट्रपतिको चुनाव गर्ने, नयाँ संविधान निलम्बन गरी संसद भंग गर्नेसम्मको योजना सेनाको छ । अर्कोतर्फ मुर्सीको सत्ता संकटमा फसेका बेला विदेश मन्त्रीले पनि राजीनामा दिएका छन् । यसअघि अन्य पाँच जना मन्त्रीले पनि राजीनामा दिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]