जापानी महिलाको औसत आयु सबैभन्दा बढी
टोकियो, १० साउन । जापानी महिलाले गत वर्ष विश्वमा सबैभन्दा बढी बाँच्ने जनसङ्ख्याको स्थान पुनः प्राप्त गरेका छन् । यसअघि उनीहरूको स्थान हङकङका महिलाले लिएका थिए र त्यसको कारण सन् २०११ मा गएको सुनामी भएको अनुमान अधिकारीहरूले गरेका थिए ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा जापानमा सन् २०१२ मा जन्मेका बालिकाले औसत आयु ८६.४१ वर्ष प्राप्त गर्ने अनुमान गरिएको छ । सन २०११ मा यो आयु ८५.९० वर्ष रहेको थियो ।
जापानीहरू अधिक आयुका लागि परिचित छन् र उनीहरूको स्वस्थ्य खाना, सक्रिय जीवनशैली, तथा राम्रो स्वास्थ्य प्रणालीका कारण यस्तो उपलब्धि हासिल भएको बताइन्छ ।
स्वास्थ्य मन्त्रालयले सरकारको कल्याणकारी सेवाका कारण यस्तो उच्च उपलब्धि हासिल भएको उल्लेख गरेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले जापान तथा हङकङसहित ४८ मुलुकको यस प्रकारको तथ्याङ्क राख्ने गरेको छ ।
सन् २०११ मा जापानी महिलाले यो स्थान गत २५ वर्षमा पहिलो पटक हङकङलाई बुझाएका थिए ।
सन् २०१२ मा जापानपछि ८६.३ वर्षको औसत् आयु लिएर हङकङका महिलाले दोस्रो स्थान प्राप्त गरेका छन् भने यसपछिको स्थान स्पेन, फ्रान्स तथा स्विजरल्यान्डका महिलाले प्राप्त गरेका छन् । एएफपी