१ दिन जेल पर्दा १० लाख डलर

२०७० श्रावण १६ गते, बुधबार


काठमाडौं, १६ साउन – बिना कारण जेल परेका अमेरिकाको एक विद्यार्थीले जेलमा बसेकोको प्रतिदिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति दिएको हो ।सन् २०१२ मा लागूपदार्थ प्रयोगको आरोपमा पक्राउ परेका चोङलाई जेलमा राखिएको थियो । तर आफूमाथि कुनै अभियोग दर्ता नगरिएको तथा चार दिन सम्म आफूलाई राखिएको ठाउँमा कोही पनि नआएको उनको दावी छ ।झ्याल समेत नभएको अँध्यारो कोठामा राखिएको, चार दिनसम्म खाना र पानी समेत नपाएको र बाँच्नका लागि आफ्नै पिसाब खाएको उनले बताएका छन् ।
जेलबाट उद्धार गरिएपछि अस्पताल भर्ना गरिएका चोङमा डिहाईड्रेसन, मृगौला फेल भएको, तर्सिने जस्ता समस्या देखिएको उनका वकिलले बताएका छन् । चोङले आफूलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् ।न्याय विभागले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । चोङको घटनापछि लागूऔषध कानुन कार्यान्वयन प्रशासनले जेलको सेलमा हरेक दिन निरीक्षण तथा क्यामरा लगाउनुपर्ने लगायतका प्रावधान समेटी बन्दी गृह सम्बन्धि नयाँ नीति लागू गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]