मालद्वीपको अदालतद्वारा बलात्कारपीडित नाबालिकालाई कोर्रा हान्ने आदेश खारेज

२०७० भाद्र ७ गते, शुक्रबार

मालद्वीप, ७ भदौ । मालद्वीपको एक अदालतले बलात्कारपीडित १५ वर्षीया एक नाबालिकालाई सार्वजनिक रूपमा कोर्रा हान्नुपर्ने भनी गरिएको निर्णयलाई खारेज गरिदिएको छ । यसअघि यस निर्णयप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको थियो ।
सौतेला बाबुबाट बलात्कृत यी बालिकालाई एक बालअपराध अदालतले विवाह नगर्दै अर्को पुरुषसँग यौन सम्पर्क गरेको आरोपमा कोर्रा हान्नुपर्ने भनी दिएको आदेश गलत भएको जानकारी उच्च अदालतले एक विज्ञप्तिमार्फत दिएको छ ।
उच्च अदालतले आफ्नो निर्णयमा यी बालिकाले पीडा तथा तनावग्रस्त समयमा यस्तो आरोप स्वीकार गरेको र उनी अदालती सुनुवाइका लागि तयार नभएको उल्लेख गरेको छ ।
फेब्रअुरीमा तल्लो अदालतले दिएको आदेशमा यी बालिका १८ वर्ष पुगेपछि निजमाथि १०० पटक कोर्रा हान्नुपर्ने भनी उल्लिखित थियो र त्यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएका थिए ।
यी बालिकाले आफूलाई आफ्ना सौतेला पिताले बलात्कार गरेको गुनासो गरेपछि प्रहरीले गरेको अनुसन्धानमा उनले अर्को व्यक्तिसँग सहमतिमै यौन सम्पर्क गर्ने गरेको फेला परेको प्रहरीले जानकारी दिएको थियो ।
हिन्द महासागरमा रहेको तथा मधुमासका लागि लोकप्रिय पर्यटनस्थल मालद्वीपमा विवाहपूर्व यौनसम्पर्क गैरकानुनी मानिन्छ । यस मुलुकमा इस्लामी सरिया कानुन तथा बेलायती कमन ल दुवै उपयोग हुन्छ ।
उच्च अदालतको निर्णयबाट राष्ट्रपति मोहमद वाहिद निकै खुसी हुनुभएको उहाँका प्रवक्ताले एएफपीलाई बताए । एएफपी

प्रतिक्रियाहरु

[anycomment]