आशारामको नार्को टेस्टको माग

२०७० भाद्र २७ गते, बिहीबार

जोधपुर, २७ भाद्र – बलात्कार पीडित किशोरीका अभिभावकले सन्त आशारामको नार्को टेस्ट गरिनुपर्ने माग गरेका छन् । आशारामले लगातार घुमाउरो बयान दिने र झूटो बोल्दै आएकाले पीडित पक्षले पहिले पनि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) लाई यस अपराधको अनुसन्धानको जिम्मा दिनुपर्ने माग गरेको हो ।यो मुद्दाको सीबीआई जाँच र फास्ट ट्रयाक कोर्टमा सुनुवाई हुनुपर्ने माग गर्दै बुधबार राजस्थान राज्यको जोधपुर अदालतमा जनहित याचिका दर्ता गरिएको छ । प्रहरीले जाँचमा ढिलासुस्ती गरेको याचिकामा भनिएको छ । दुई सातापछि यो विषयमा सुनुवाइ हुने भनिएको छ । जोधपुर केन्द्रीय कारागृहमा राखिएका आशारामलाई विशेष भोजन र अन्य सुविधा दिनेबारे बिहिबार अदालतमा बहस हुँदै छ । उनले आफूलाई तीन खाले रोग भएको हुनाले भोजनसँगै मिलाएर औषधि लिनुपर्ने बताएका छन् । आशारामको स्वास्थ्य रिपोर्ट हेरेपछि अदालतले यो विषयमा निर्णय गर्नेछ ।पीडित पक्षको सशक्त दबाबले गर्दा उनले यौनशोषणको आरोपबाट राहत पाउने सम्भावना कम हुँदै गएको छ । अन्धो भक्तजनद्वारा आशारामले पाइरहेको समर्थनमाथि पनि पिताले प्रश्न उठाइएका छन् । ‘उनीहरूका गुरु निर्दोष र स्वच्छ छविका छन् भने ब्रेन म्यापिङ र पोलिग्राफ टेस्टको माग गर्दा विरोध नहुनुपर्ने हो,’ उनले भने, ‘सीता सत्य थिइन्, त्यही भएर उनी अग्नि परीक्षाबाट पछि हटिनन्, बाबा र उनको भक्तलाई सत्य सार्वजनिक हुँदाको त्रास छ ।’ अपराधीको मानसिकता जान्न र झूट बोलेको पत्ता लगाउन ती जाँचहरू गरिन्छन् ।पक्राउ पर्नेबित्तिकै आशारामले स्वयं आफू यौन अक्षम भएको हुनाले बलात्कार गर्न नसक्ने बताएका थिए । उनले यसका लागि सुरुमा चिकित्सकीय जाँच गर्न आलटाल गरेका थिए । विज्ञ चिकित्सक टोलीको जाँचमा उनी एउटा स्वस्थ युवाझैं यौनमा सक्षम र सक्रिय रहेको पत्ता लागेको थियो । स्वस्थ खानपिन र योगाले उनमा पर्याप्त यौन ऊर्जा रहेको भनिएको थियो । उनको आश्रममा आएका चेलीहरूलाई बाबासँग ध्यान, साधना र तन्तमन्त्रको नाउँमा रात बिताउन बाध्य पार्ने सेविका शिल्पीलाई अझैं प्रहरीले पक्राउ गर्न सकेको छैन । उनले प्रहरीसमक्ष उपस्थित नभई बुधबार अदालतम अगि्रम जमानतका लागि अपिल गरेकी छन् । उनले ६ महिना अगाडि मात्र आश्रममा काम गर्न पुगेको, आशारामलाई कहिल्यै नभेटेको र नबोलेको याचिकामा उल्लेख गरेकी छन् ।
उत्तरप्रदेशको शाहजहाँपुरस्थित घरमा पीडित पक्षले यो मामिलालाई सेलाउन नदिन पत्रकार सम्मेलन गरेका छन् । ‘मेरो जिन्दगी पहिलोजस्तो रहेन, त्यो कालो रातले मेरो सब थोक लुट्यो, मेरो सबथोक लुटियो,’ पीडित किशोरीले भनिन्, ‘मेरो सीए बन्न सपना आशारामले खत्तम पारे, अब आईएएस अफिसर बनेर यस्ता बाबाहरूलाई पाठ सिकाउनेछु । उक्त अनपेक्षित घटनापछि हाँस्न पनि बिर्सेको उनले बताइन् । उनले भनिन्, ‘लक्ष्यमा पुग्नलाई जस्तोसुकै संघर्ष गर्न तयार छु, जसोतसो यो नराम्रो समय कटोस् ।’-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]