आत्महत्याको मुख्य कारण आर्थिक मन्दी
३ असोज – आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दी प्रमुख कारण रहेको एक अध्ययनले देखाएको छ ।अमेरिका तथा युरोपमा गरिएको अध्ययनले आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दीले बढी भूमिका निभाएको उल्लेख छ । अनुसन्धानकर्ताले सन् २००८ मा अमेरिकाको घरजग्गा कारोबारबाट सुरु भएको आर्थिक मन्दीबाट परेको विश्वव्यापी असरबारे ५४ देशमा अध्ययन गरेका थिए ।
आर्थिक मन्दी सुरु भएपछि आत्महत्या गर्ने पुरुषको संख्या ३ दशमलव ३ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ । अक्सफोर्ड तथा ब्रिस्टोल विश्वविद्यालय तथा हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले विश्व स्वास्थ्य संगठनको मृत्युदरको तथ्याङ्कलाई आधार मानेर अध्ययन गरेका हुन् ।
सन् २००८ मा आर्थिक मन्दी सुरु भएपछि त्यसवर्ष अनुमान गरिएको भन्दा झण्डै ५ हजार बढीले आत्महत्या गरेको अध्ययनमा उल्लेख छ । यसमा युरोपका २७ र अमेरिकाका १८ देशका नागरिक बढी रहेका छन् ।युरोपमा १५ देखि २४ वर्ष उमेरसमूहमा तथा अमेरिकामा ४५ देखि ६४ वर्ष उमेरसमूहमा आत्महत्यादर बढेको छ । आर्थिक मन्दीका कारण मनोवैज्ञानिक रुपमा परेको दबाब र आत्महत्याबीच सम्बन्ध रहेको अनुसन्धानकर्ताले बताएका छन् ।