चीनमा तुवाँलोले स्कुल र विमानस्थल बन्द

२०७० कार्तिक ५ गते, मंगलवार

बेइजिङ , ५कार्तिक – चीनको हेइलङजिङ प्रान्तको हर्बिन सहरमा तुवाँलोले सास फेर्न गाह्रो भएपछि सोमबार विद्यालय र राजमार्गहरू बन्द गरिएका छन् । उडानहरू प्रभावित भएका छन् ।हावामा कणहरूको घनत्व विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको सीमाभन्दा बढी कयौं गुणा बढी छ । सहरभित्र दृष्टिक्षेत्र ५० मिटरभन्दा तल झरेको थियो । स्थानीय सञ्चारमाध्यमहरूले प्रदूषणलाई हिउँदका लागि सहरको ‘पब्लिक हिटिङ सिस्टम’ जोडेका छन् ।सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार हावामा २.५ माइक्रोमिटरभन्दा साना कणहरू नाप्न प्रयोग गरिने पीएम २.५ सोमबार बिहान प्रतिक्युविक मिटर ५ सय माइक्रोग्रामभन्दा बढी थियो । डब्लूएचओको ‘गाइडलाइन’ अनुसार पीएम २.५ को औसत दैनिक घनत्व प्रतिक्युविक मिटरमा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुन्न ।
हेइलङजिङ प्रान्तका सबै राजमार्ग र हर्विनको ताइपिङ अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य बन्द गरिएको थियो । हेइलङजिङ, जिलिन र लिओनिङ प्रान्तमा बाक्लो तुवाँलोको चेतावनी दिइएको थियो ।यस तुवाँलोबारे ट्वीटर जस्तै चिनियाँ माइक्रोब्लग सिना वेइबोमा विस्तृत बहस छाएको छ । ‘हामी सबै आज कक्षामा ढिलो पुगेका थियौं, किन कि हामीले पढाउने भवन नै देख्न सकेनौं,’ जिलान प्रान्तका एक माइक्रोब्लग प्रयोगकर्ताले लेखे ।हार्बिनका एक माइक्रोब्लगरले हर्बिन ‘आज मृत सहर भएको’ उल्लेख गरेका छन् । ‘बेइजिङ तिमी लामो समय एक्लै रहेनौ । तिम्रो साथ हामी पनि छौं,’ वायु प्रदूषणले बारम्बार सताउने बेइजिङ सहरबारे उनले लेखे । यस वर्षको सुरुमा राजधानी बेइजिङमा पनि वायु प्रदूषण खतरनाक तहमा पुगेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]