फिलिपिन्समा राष्ट्रिय संकट घोषणा
मनिला, २७ कार्तिक – फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोले हायान आँधीबाट भएको व्यापक विनाशपछि राष्ट्रिय संकटको घोषणा गरेका छन् । त्यहाँ अपूरणीय मानवीय, भौतिक र आर्थिक क्षति भएको छ, जसको अनुमान गर्नसमेत कठिन छ । सबभन्दा बढी क्षति लेट प्रान्तको राजधानी टक्लोबानमा भएको छ । त्यहाँ १ करोड १० लाख प्रभावित र ६ लाख ७३ हजार विस्थापित भएका छन् ।घर, स्कुल र विमानस्थल सखाप भएका छन् । सडक सम्पर्कविच्छेद भएकाले राहतकर्मी आँधी प्रभावित थुप्रै गाउँमा पुग्न सकेका छैनन् । हजारांै पीडितलाई राहत सामग्रीको पर्खाइ छ । राष्ट्रसंघले यसलाई अभूतपूर्व विनाश भनिसकेको छ । उसले ठूलो परिमाणमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामाथि जोड दिएको छ । राष्ट्रसंघले केन्द्रीय आपत्कालीन कोषबाट २ करोड ५० लाख डलरको निकासा गरेको छ । त्यहाँ कम्तीमा १० हजारको मृत्यु भएको भनिसकिएको छ ।
त्यहाँ नौसेना तैनाथ गरेको अमेरिकाले थप राहतको घोषणा गर्दै सैन्य हवाई जहाज पठाउने भएको छ । अन्य मुलुकले पनि लाखौं डलर सहयोगको वाचा गरेका छन् । आपत्कालीन सहयोग पुर्याउने प्रयास जारी छ । सम्पूर्ण विवरण संकलन भइसकेपछि झनै भयावह स्थिति देखिने अनुमान गरिएको छ । यो प्रकृति विपत्ति गएको चार दिन बिते पनि स्थिति सामान्य हुन सकेको छैन । त्यहाँ मुसलधारे वर्षाको अनुमान गरिएको हुनाले सर्वत्र त्रास छ । दुर्गम क्षेत्रमा कपडा, औषधि र स्वच्छ पानी पुर्याउन सडक गर्नु जरुरी भएको फिलिपिन्स रेडक्रस प्रमुख रिचार्ड गार्डनले बताए । पीडितहरूले सञ्चारमाध्यम र सञ्चारकर्मीको सहयोगले आफू जीवित रहेको सूचना दिँदै छोराछोरी र परिवारजनको खोजी गरिरहेका छन् । उनीहरूका लागि एक मात्र प्रभावकारी सम्पर्कसूत्र पत्रकार भएको छ । पत्रकारहरूले पनि आफ्नो पत्रिका टीभी, रेडियो र सामाजिक सञ्जालमार्फत उनीहरूबारे सर्वसाधारणलाई जानकारी गराइरहेका छन् – एजेन्सी