मोदीको सभामा आक्रमण भारतीय आतङ्ककारीबाटै

२०७० मंसिर ७ गते, शुक्रबार

नयाँ दिल्ली, ६ मङ्सिर । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको केही दिनअघिको आमसभामा भएको हमलामा भारतकै आतङ्ककारी समूहको हात रहेको प्रहरीले जनाएको छ ।भारतीय प्रहरीले आजै सार्वजनिक गरेको एक प्रतिवेदनमा भारतको आतङ्ककारी समूह इन्डियन मुजाहिद्दीनको हात रहेको जनाइएको छ ।
यसका साथै यसैवर्ष भारतमा भएका मुख्य चारवटा आक्रमणमा पनि सोही समूहको हात रहेको पाइएको जनाइएको छ । सो विषयमा अनुसन्धानमा रहेका प्रहरीले उक्त निष्कर्ष निकालेको हो ।
भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धेले पनि बिहीबार सो प्रतिक्रिया दिनुभएको छ । उहाँले नयाँ दिल्लीमा आयोजित प्रहरी अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो– यसमा सोही समूहको हात भएको अनुसन्धानबाट खुलेको छ ।
भारतमा हुने यस्ता खालका आतङ्ककारी हमलाहरूमा प्रायः पाकिस्तानलाई दोषारोपण गर्ने गरेको भारतले यसवर्षका ती हमलाहरूमा भने भारतकै आतङ्ककारी समूहको हात रहेको पाइएको बताइएको छ ।
यसै वर्ष भएका हैदराबाद, आन्ध्रप्रदेश, बोधगयामा भएका हमलामा सोही समूहको हात रहेको पाइएको बताइएको छ । गृह मन्त्री सिन्धेले सो जानकारी दिनुभएको हो । – एएफपी

प्रतिक्रियाहरु

[anycomment]