अस्ट्रेलियामा युरोपेली युवाको ओइरो
लन्डन ,१२ मंसिर – असन्तुष्ट युरोपेली युवाका लागि अस्ट्रेलिया आकर्षक गन्तव्य बनेको छ । रोजगार नपाएका वा गुमाएका असन्तुष्ट युरोपेली युवाहरू आर्थिक समस्याबाट मुक्ति पाउन घर छाडेर अस्ट्रेलिया पलायन हुन आतुर देखिन्छन् । आयरल्यान्डबाट अस्ट्रेलिया जाने युवाहरूको संख्या सन् १९८० यताकै सबैभन्दा बढी छ । विश्व आर्थिक मन्दीका बाबजुद अस्ट्रेलियाको अर्थतन्त्र फस्टाएको खानी उद्योगका कारण मजबुत बनिरहेको छ । त्यही भएर युरोपेली युवाहरूका लागि नयाँ सुरुवात गर्ने पर्याप्त अवसर छन् ।तर अस्थायी श्रम भिसामा आयरल्यान्ड र अन्य युरोपेली देशका युवाको बाढी लागेपछि स्थानीयका लागि भने श्रम बजार साँघुरिँदै गएको छ । यो सर्वाधिक चासोको विषय बनेको छ ।’१५ देखि १९ वर्षका साढे १४ प्रतिशत यवा बेरोजगार छन् जुन विश्वका अन्य धेरै देशको तुलनामा निकै कम हो,’ अस्ट्रेलियाका ट्रान्स्पोर्ट वर्कर्स युनियनका टोनी सेल्डन भन्छन्, ‘हामीले धेरै दक्ष युवालाई अवसर दिन सकेका छैनौं र सरकारले सही सन्तुलन गुमाएको छ भन्दा फरक पर्दैन ।’उनका अनुसार अस्ट्रेलियामा वैकल्पिक जनशक्ति भित्र्याइएको छ । त्यस्तो जनशक्ति सस्तो मात्र हुने होइन शोषणमा पर्न सक्ने पनि हो । उनको डर कतै विदेशी जनशक्ति नैतिकताहीन मालिकबाट कम पारिश्रमिक र गलत व्यवहारको सिकार हुन्छन् कि भन्ने छ ।’स्थिति ठानिएभन्दा कठिन छ,’ उनी भन्छन् ।
आयरल्यान्डमा गम्भीर आर्थिक समस्या छ । त्यहाँ जीवन त्यति सहज छैन । ‘अस्ट्रेलियामा पर्याप्त रोजगारी छ । युवाहरूका लागि काम सजिलो पनि छ,’ छ महिना अघि मात्र अस्ट्रेलिया पुगेकी एओफी भन्छिन्, ‘तर युवतीहरूका लागि कठिन छ ।’ उनी अस्ट्रेलियाको आइरिस पवमा काम गर्छिन् । उनको साथी मिसेला केली सिड्नीको एउटा कार्यालयमा काम गर्छिन् । आयरल्यान्डमा छँदा उनको भन्दा सिड्नी पुगेकी केलीको कमाइ दोब्बर देखेपछि उनी पनि अस्ट्रेलिया पुगेकी हुन् । केली बिजिनेस स्टडिजमा स्नातकोत्तर गरेकी दक्ष जनशक्ति हुन् ।तर अस्ट्रेलियामा युवा बेरोजगारी यति जबरजस्त रूपमा बढिरहेको छ कि त्यहाँको मुख्य सहरमै बेरोजगारी ४० प्रतिशतसम्म छ । केली अस्ट्रेलियाका युवाहरूको रोजगारी खोसेकामा आफूलाई दोषी ठान्छिन् ?’ठान्दिन भनु भने नराम्रो हुन्छ र ?’ उनको प्रतिप्रश्न छ, ‘आयरल्यान्डबाट यहाँ मानिसहरू काम गर्न आएका हुन् र उनीहरू कडा परिश्रम गर्छन् । उनीहरू आफ्नो देशमा पनि कडा परिश्रम गर्थे । यहाँ अस्ट्रेलियाका मानिसहरू त्यति राम्ररी काम गर्दैनन् । त्यही भएर मलाई यहाँ काम गर्दा नराम्रो लाग्दैन ।’-बीबीसी