थाइल्यान्डको विरोध प्रदर्शन हिंसात्मक बन्दै

२०७० मंसिर १७ गते, सोमबार


बैंकक, १७ मंसिर । थाइल्यान्डका विपक्षीहरुले विगतका हप्ताहरुदेखि जारी राखेको विरोध प्रदर्शन सोमबार हिंसात्मक बनेको समाचार छ । उनीहरुले यसअघिका तुलनामा आजको प्रदर्शनमा प्रहरी विरुद्ध नै जाइलागेको बताइएको छ । जसका कारण राजधानी बैंककमा सोमबार बिहानैदेखि तनावपूर्ण अवस्था उत्पन्न भएको पनि समाचारमा उल्लेख छ ।
आइतबार पनि विपक्षी दलहरुले थाइल्यान्डको राजधानी बैंककमा रहेका सरकारी कार्यालयहरुमा विरोध गरेका थिए । हजारौँको सङ्ख्यामा रहेका उनीहरुले ती सरकारी कार्यालयमा घेराहाली सरकार विरोधी नाराबाजी गरेका थिए । सोमबार बिहान विपक्षी दलहरुको विरोध प्रदर्शन थप हिंसात्मक बन्दा त्यहाँ रहेका विद्यालय विश्वविद्यालयहरु पनि बन्द रहेका बंैककमा रहेका एएफपी समाचार समितिका प्रतिनिधिले जनाएका छन् । उनका अनुसार प्रदर्शनकारीहरुले प्रहरीमाथि नै जाइलाग्न थालेपछि प्रहरीले पनि बिहानैदेखि कयौँ स्थानमा टियर ग्यास हान्नुका साथै प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।
तर घाइते वा हताहतिको समाचार भने आएको छैन । तर विगतको तुलनामा आजको प्रदर्शन थप हिंसाउन्मुख बन्न पुगेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री यिङ्लक सिनावात्राका विरुद्धमा जारी सो आन्दोलनका क्रममा उनीहरुले आइतबार मात्र प्रधानमन्त्रीलाई चाँडै राजिनामा गर्न अल्टिमेटम दिएका छन् ।
यसअघि विपक्षीहरुले वर्तमान प्रधानमन्त्री यिङ्लकलाई सत्ताच्यूत गर्नका लागि सहयोग गर्न सेनासँग पनि आग्रह पनि गरेका छन् । उनीहरुले सैनिक मुख्यालयलाई पनि घेराबन्दी गरी विरोध गरेका थिए । प्रधानमन्त्री यिङ्लक सिनावात्राले आन्दोलनरत विपक्षी दलहरूलाई वार्ताका लागि बारम्बार आह्वान गर्नुभएको छ । तर विपक्षीहरु भने सो वार्ताको आह्वानको विपरीत यसरी हिंसात्मक विरोधमा उत्रिएका बताइएको छ ।
उनीहरूले प्रधानमन्त्रीको राजिनामा जतिसक्यो चााडै आउनुपर्ने माग गरिरहेका छन् । तर प्रधानमन्त्री यिङ्लकले भने मात्र संसद्बाट विश्वासको मत हासिल गरिसकेकोले आन्दोलन चर्काकाउँदैमा राजिनामा नदिने बताउँदै आउनु भएको छ । थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिनेसम्बन्धी कानुन पारित गरेको थियो । सो कानुन पारित भएपछि नै विपक्षीहरू संसद् र सडकमा सरकारका विरुद्ध उठेका हुन् । तर उक्त कानुन संसदको माथिल्लो सदनले असफल गराइसकेको छ ।
सो कानुन प्रधानमन्त्री यिङ्लकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउने गरी ल्याएको आरोपमा विपक्षीहरूले आन्दोलन गरेका हुन् । उनीहरुले उक्त कानुन असफल भएपछि पनि भ्रष्टाचारको आरोपमा निर्वासनमा रहेका आफ्ना दाजु थाकसिन सिनावात्राको निर्देशनमा र उनलाई सजिलो पर्नेगरी काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]