सिरियाका राष्ट्रपति दोषी ठहर
मंसिर १८ – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नभी पिल्लेले सिरियामा संगठित रुपमा भएको युद्धअपराध उच्च स्तरमा भएको प्रमाण फेला परेको बताएका छन् ।सिरियामा चलिरहेको संघर्ष सम्बन्धि छानबीनले युद्धअपराध भएको पुष्टि गरेको र यसमा राष्ट्रपति समेत दोषी रहेको पाइएको पिल्लेको दावी छ । राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले असदलाई सार्वजनिक रुपमा दोषी देखाएको यो पहिलो पल्ट हो ।राष्ट्रसंघको छानबीन आयोगले सिरियामा मानवता विरोधी अपराध, युद्ध अपराध जस्ता गम्भीर अपराध भएका प्रशस्त प्रमाण फेला पारेको र त्यसमा राष्ट्रप्रमुख सहित सरकारका उच्च तहका अधिकारी नै सामेल रहेको पाइएको पिल्लेले बताए ।उनका अनुसार छानबीन आयोगले गम्भीर मानवअधिकार हननका घटनामा प्रत्यक्ष संलग्न रहेका व्यक्तिहरुको सूची तयार गरेको छ । जसमा सिरियाली सेना र सरकारका उच्च तहका अधिकारी समेत सामेल रहेका छन् ।
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त पिल्लेले यसअघि पनि सिरियामा मानवअधिकार हननका घटना भएको भन्दै सुरक्षा परिषदलाई सिरियालाई अन्तर्राष्ट्रिय अपराध अदालत आइसिसीमा उभ्याउन आग्रह गर्दै आउनुभएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा चलेको संघर्षका क्रममा अहिलेसम्म १ लाख जना भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।