रहेनन् मण्डेला

काठमाडौं , २१ मंसिर । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको घरमै उपचार हुँदै आएको थियो । मण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले पनि शोक जनाएका छन् । उनको निधनलाई विश्वभरका राजनीतिज्ञ तथा जनताले एक युगको अन्त भएको बताएका छन् । जसले उनलाई यातना र जेल दिए उनले पछि राष्ट्रपति हुँदा उनीहरुप्रति पनि उत्तिकै सहानुभूति दर्शाएका थिए । शालिन र अडिगको प्रतीकका रुपमा चिनिने मण्डेलाले युग परिवर्तनको बाटोलाई उच्चतम विन्दुमा लगेर आदर्श बनेका थिए । मण्डेला रंगविभेदविरुद्धको आन्दोलनका क्रममा वर्षौं जेल–नेल भोग्दै विभेदसहित सुन्दर संसारको परिकल्पनाकार मध्ये एक महान नेता तथा दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति थिए ।
राष्ट्रपति जुमाले राष्ट्रिय टेलिभिजनमा एक सन्देश दिँदै भने, ‘हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत र नेता नेल्सन मण्डेला गुमाएको छ । मण्डेलाले हामीलाई एकजुट बनाउनुभयो, अब हामी सबै मिलेर उहाँको विदाई गर्छौं । तबसम्म हाम्रो राष्ट्रिय झण्डा झुक्नेछ ।’यसगरी , उनको निधनप्रति विश्व नेताहरुले गहिरो दुख प्रकट गर्ने क्रममा अमेरिकी राष्ट्रपति ओबामाले मण्डेलालाई आफ्नो आदर्शको रुपमा लिएको बताएका छन् । उनले भनेका छन्, ‘मण्डेलाले प्रस्तुत गरेको उदाहरणविना आङ्खनो जीवन सोच्न समेत सक्दिन ।’राष्ट्रसंघका महासचिव बान कि मुनले पनि मण्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायका लागि अडिग धरोहरका रुपमा मण्डेला रहेको बताएका छन् ।