विवादमा मुछिए रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन

२०७० मंसिर २५ गते, मंगलवार


२५ मंसिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार ख्यातिप्राप्त सरकारी समाचार संस्था रिया नोभोस्तीलाई विघटन गरी यसमा सुधारका लागि दिमित्री किसल्योभलाई नयाँ प्रमुखको रूपमा नियुक्त गरेपछि विवाद आरम्भ गरेका छन् ।राष्ट्रपति पुटिनले रसियाको सबैभन्दा ठूलो समाचार संस्थालाई विघटन गरी नयाँ आमसञ्चार कम्पनी रोसिया सेगोद्न्या सिर्जना गर्ने पनि आदेश दिएका क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ । यस कम्पनीको प्रमुख उद्देश्य रसियाको सरकारी नीति तथा सार्वजनिक जीवनका विषयमा प्रचार गर्नु रहेको छ ।रसियामा राष्ट्रपति पुटिनको १३ वर्षे शासनको विषयमा अनलाइनमा बढ्दो आलोचनाबीच सरकारी आमसञ्चारलाई बलियो बनाउने तथा विदेशमा रसियाको छवि राम्रो बनाउने प्रयास यस पाइलाबाट भएको ठानिएको छ । राष्ट्रपति पुटिनका कर्मचारी प्रमुख सेर्गेइ इभानोभले यस पाइलाले सरकारी आमसञ्चारको बजेटको बढी विवेकपूर्ण खर्च हुने र क्रेमलिनको सन्देश विदेशमा बढी प्रभावकारी रूपमा जाने बताए ।
राष्ट्रपति पुटिनले नियुक्त गर्नुभएको दिमित्री किसल्योभ अमेरिकी विरोधी र सरकार समर्थकको रूपमा देखिएका छन् । रसियामा प्रदर्शनकारी नेता तथा ब्ल्गर अलेक्सी नाभाल्नीले किसल्योभको नियुक्तिको समाचार पहिलो पटक देखिँदा व्यङ्ग्य जस्तो ठानिएको उल्लेख गरेका छन् ।किसल्योभ रसियाली सरकारको स्वामित्वमा रहेको टेलिभिजन कम्पनीका उपप्रमुख हुन् र उनी हरेक साता रोसिया च्यानलका लागि साप्ताहिक समाचार विश्लेषण प्रस्तुत गर्छन् । उनको प्रस्तुतिमा प्रतिपक्षको कडा आलोचना गरिएको हुन्छ । उनले समलिङ्गी व्यक्तिलाई रक्तदान गर्न प्रतिबन्ध लगाउनुपर्ने र उनीहरूको दुर्घटनाका कारण मृत्यु भएमा पनि उनीहरूको मुटु अरुमा प्रयोग गर्न नहुने धारणा राख्ने गरेका छन् ।उनी आफ्नो रेडियो कार्यक्रममा अमेरिकासँगको शीत युद्ध अझै गहन भएको दाबी गर्छन् । रिया नोभोस्तीले हालका दिनमा आफ्नो समाचार सेवामा खेल समाचार तथा अर्थ समाचार थपेको थियो । त्यहाँका एक कर्मचारीले नयाँ नियुक्तिको समाचार क्रेमलिनको वेबसाइटमा फेला पारिएको बताए ।
यस संस्थाका कर्मचारीहरूलाई एक इमेल पठाइ संस्था विघटनका लागि तयारी रहन भनिएको बताइएको छ । यो संस्था विश्वका ठूला समाचार संस्थामध्येको एक हो र यसले आउँदो फेब्रुअरी महिनामा शीतकालीन ओलम्पिक खेलको प्रायोजन गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]