मोर्सीमाथि आतंकवाद मुद्दा दायर

२०७० पुष ४ गते, बिहीबार

काठमाडौं ,४ पुस। इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई विदेशी संगठनहरुसँग मिलेर आतंकवादी गतिविधीको षडयन्त्र गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
मोर्सीले प्यालेष्टिनी लडाकु समूह हमास र लेबनानको हिज्बुल्लाहसँग गठबन्धन बनाएको आरोप सरकारले लगाएको छ ।मोर्सी बाहेक मुस्लिम ब्रदरहूडका नेता सहित अरु ३५ जनालाई पनि आतंकवादी गतिविधी गरेको आरोप लगाइएको छ । उनीहरुले देशको गोपनियता विदेशी संगठन सामु खोलेको, आतंकवादलाई प्रश्रय दिएको तथा देशको स्थायीत्व र स्वतन्त्रतामा आँच आउने गरी सैन्य प्रशिक्षण लगायतका गतिविधी गरेको सरकारी वकिलले दावी गरेका छन् ।
गएको जुलाईमा सेनाद्वारा अपदस्थ मोर्सीलाई यसअघि नै भ्रष्टाचार तथा हत्या÷हिंसाको मुद्दा लगाईसकिएको छ । ति आरोप प्रमाणित हुँदा कम सजायँ हुने भएपनि नयाँ आरोप प्रमाणित भए मोर्सीलाई मृत्युदण्ड हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी वकिलले नयाँ अभियोग देशको इतिहासकै सबैभन्दा ठुलो षडयन्त्रको मामिला भएको दावी गरेका छन् ।
मोर्सीका समर्थकले उहाँमाथि लगाइएको आरोप राजनीति प्रेरित रहेको बताउँदै आएका छन् । यसैबीच मानवअधिकारवादी संगठनहरुले मोर्सीले निष्पक्ष सुनुवाईको मौका पाउनेमा शंका व्यक्त गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]