रक्षक नै भक्षक भएपछि ……..
चंडीगढ, ५ पुस – भारतको चंडीगढमा स्कुलको बाहिर छात्राहरुको सुरक्षा गर्न खटिएका प्रहरीले त्यहाँ कक्षा दशमा पढ्ने एक छात्रामाथि महिना दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।१६ वर्षकी ती छात्राले जब यसलाई सहन नसकेर आत्महत्या गर्न खोजिन् तब उनको परिवारले यो घटना थाहा पाए । यसपछि उनका परिवारले पुलिसमा यसको रिपोर्ट लेखाउन भनेर गए, तर पुलिस अधिकारीहरुले यस केसलाई दबाउन खोजे । पछि राजनीतिक पार्टीले यसमा दबाब दिएपछि मात्र पुलिसले रिपोर्ट लेख्यो । त्यसपछि गरिएको मेडिकलमा छात्रामाथि रेप भएको पुष्टि भएको छ । यसको पुष्टिपछि पुलिसले आरोपी ५ जना प्रहरीहरुलाई हिरासतमा लिएको छ ।
घटनाको सुरुवात त्यतिबेला भयो जब ती छात्राले आफ्नो घरमा भएको हिंसाबाट पुलिसको मद्दत मागिन् । ती छात्राका पिताले जहिले पनि रक्सी पिएर उनलाई पिट्ने गर्थे । त्यसलाई सहन नसकेर उनले पुलिसको मद्दत लिएको बताइएको छ । त्यति बेला नै ती पुलिसले उनीसँग सोधपुछको बाहनामा मोबाइल नम्बर मागेको र पछि बन्दुक देखाएर लगातार डेढ महिनासम्म बलात्कार गरेका थिए । जब ती आरोपी प्रहरीमध्ये दुई जनालाई मेडिकल गर्न लगिँदै थियो, आक्रोशित भिडले उनीहरुमाथि हातपाथ समेत गरेका थिए । यसबारे चंडीगढ पुलिसले केही प्रतिक्रिया दिएको छैन ।