मुसर्रफको मुद्दामा सुनुवाई हुदै

२०७० पुष ९ गते, मंगलवार

९ पुस – पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुसर्रफमाथि देशद्रोहको आरोपको मुद्दाको आज देखि सुनुवाई शुरु हुँदैछ ।इस्लामाबादको विशेष न्यायालयमा सुनुवाई हुनेछ । इस्लामाबाद उच्च अदालतले सैनिक अदालतमा मात्रै आफूमाथिको मुद्धाको सुनुवाई हुनुपर्ने मुसर्रफको याचना खारेज गरिदिएपछि विशेष अदालतमा मुद्धा चल्न लागेको हो ।मुसर्रफका वकिलले सन् २००७ मा सेना प्रमुख भएका नाताले त्यतिबेलाको घटनाका लागि सैन्य अदालतलाई मात्रै मुद्धा चलाउने अधिकार प्राप्त भएको, विशेष अदालतको गठन संविधान सम्मत नरहेको र न्यायाधीश र वकिल नियुक्ति प्रक्रिया पनि वैधानिक नभएको भन्दै आपत्ति जनाएका थिए ।
तर उच्च अदालतले सबै याचना खारेज गरेको छ । सन् २००७ मा संविधान खारेज गरी संकटकाल घोषणा गरेको विषयमा मुसर्रफमाथि देशद्रोहको मुद्धा लगाइएको हो । पाकिस्तानका कुनै पनि पूर्व सैनिक शासक विरुद्ध देशद्रोहको मुद्धा चलाउन लागिएको यो पहिलो पल्ट हो ।
सन् २००८ मा राजीनामा दिएपछि स्वघोषित निर्वासनमा गएका मुसर्रफ आम चुनावमा सहभागी हुनका लागि गएको मार्चमा पाकिस्तान फकेका हुन् । मुसर्रफले आफूमाथि लागेको सबै आरोप राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]