बरफ जमेको ठाउँमा फसेको जहाजका यात्रुलाई उद्धार सुरु

२०७० पुष १६ गते, मंगलवार


काठमाडौं, पौष १६ । अन्टार्कटिकाको फ्रान्सेली अन्टार्कटिक स्टेशन ड्यु डाउन्ट दि उरभाइल नजिक बरफ जमेको ठाउँमा फसेको पानी जहाजका यात्रुहरुलाई हेलिकप्टरको माध्यमले उद्धार गर्ने प्रयास शुरु भएको छ । अष्ट्रेलियाली आईस ब्रेकरको सहायताले पानी जहाजलाई उद्धार गर्ने प्रयास असफल भएपछी हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको हो ।
रुसी झण्डाबाहक अनुसन्धानका लागि प्रयोग गरिएको एकेडेमिक सोकालेस्की नामक पानी जहाज झण्डै एक सातादेखि बरफ जमेको अन्टार्कटिक समुद्रमा फसिरहेको छ । त्यसमा ७४ जना बैज्ञानिक, पर्यटक र चालक दलका सदस्य रहेका छन् ।
पानी जहाजमा रहेकाहरुले आफूहरुसंग पर्याप्त खाद्दान्न रहेको र कुनै किसीमको खतराको सामना गर्नु नपरेको बताइरहेका छन् । अष्ट्रेलियाको तास्मानिया राज्य देखि १५ सय नटिकल माइल दक्षिणमा सो पानी जहाज फसिरहेको उद्धारकर्मीहरुले जनाएका छन् ।
मौसम अनुकुल हुने बितिकै चीनको जिउलोङ पानी जहाजबाट ५२ यात्रु र ४ चालक दलका सदस्यलाई उद्धार गर्ने निर्णय भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]