बंगलादेशमा आमनिर्वाचन हुँदै
काठमडौं २१ पुस : बंगलादेशमा आज दसौं आमनिर्वाचन हुँदैछ। तर निर्वाचनप्रक्रियाको विरोध गर्दै मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी र उसको सहयोगी पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। सत्ताधारी बंगलादेश अवामी लिग बीएएलले निर्वाचनप्रक्रियाका क्रममा तटस्थ सरकार गठन नगरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ।
विपक्षी पार्टीले निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर तटस्थ कामचलाउ सरकार गठन गर्नुपर्ने माग राखेका थिए। तर सरकारले यो माग खारेज गर्दै निर्वाचन संवैधानिक रूपबाट आवश्यक रहेको अडान लिएको छ। प्रधानमन्त्री हसिनाका वरिष्ठ विदेश नीति सल्लाहकार गोवेर रिज्वीले संसदीय अवधि सम्पन्न भएकाले निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन्। ठाउँ ठाउँमा चुनावको विरोध गर्दै मतदान केन्द्र जलाइएका छन् ।
बंगलादेशको निर्वाचनप्रक्रियाको विश्वसनीयता खतरामा नै छ किनभने विपक्षीको अनुपस्थितिमा सत्ताधारी अवामी लिग पार्टी ठूलो बहुमतले जित्न सक्छ। निर्वाचनका लागि मुलुकभर ५० हजार सैनिक तैनाथ गरिएको छ। अमेरिका, युरोपेली महासंघ र राष्ट्रमण्डलले निर्वाचन अनुगमन गर्न अस्वीकार गरेका छन्।
अवामी लिगका उम्मेदवार वा उनीहरूका सहयोगी तीन सय संसदीय स्थानमध्ये एक सय ५३ स्थानमा निर्विरोध भएको देखिएको छ। सन् २०१३ मा बंगलादेशमा राजनीतिक हिंसामा पाँच सय व्यक्तिको मृत्यु भइसकेको स्थानीय अधिकारवादी कार्यकर्ताले बताएका छन्।
न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको वकालत समूह ह्युमन राइट्स वाचले अराजकताका लागि दुवै पक्ष जिम्मेवार भएको आरोप लगाएको छ। यस मुलुकमा प्रमुख इस्लामी दल जमात ए इस्लामीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लागेको छ।-एजेन्सी