मुसर्रफलाई ७ दिन म्याद थप
काठमाडौं ,पाकिस्तानका पूर्व राष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफलाई अदालतले सुनुवाईका लागि एक हप्ता समय थपेको छ ।गतहप्तामात्र अदालत जाने क्रममा उनलाई अकस्मात मुटुमा समस्या देखिएको भन्दै बाटोबाटै अस्पताल लगिएको थियो । उनको स्वास्थ्यसम्बन्धी रिपोर्टलाई हेरेर अदालतले सो निर्णय गरेको बताइएको छ ।मुसर्रफलाई देशद्रोहको अभियोगमा सुनवाइका लागि अदालत उपस्थित हुने आदेश दिइएको थियो । हाल उनी इस्लामावादस्थित सैनिक अस्पतालमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यसम्बन्धी रिपोर्ट हेरेर आगामी जनवरी १६ मा अदालत उपस्थित भए हुनेगरी एक हप्ताको समय थपिएको छ ।सन् १९९९ मा सैनिक जर्नेलका रूपमा रहेका उनले सत्ता हत्याएकोले त्यसबाट देशद्रोह भएको र सन् २००७ मा देशमा सङ्कटकालको घोषणा गरी ज्यादतीपूर्ण शासन गरेका कारण पाकिस्तानमा उनीबाट राष्ट्रघात भएको अभियोग उनीमाथि लगाइएको छ ।-एजेन्सी