भारत ,६५ औं गणतन्त्र दिवस मनाउदै
नयाँदिल्ली, १२ माघ । भारतले आफ्नो ६५ औं गणतन्त्र दिवस आज मनाउँदैछ । यसका लागि भारत सरकारले आफ्नो शक्ति प्रदर्शनका साथै विभिन्न कार्यक्रम गर्दैछ । यसै अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिएको सन्देशमा दुनीयाँलाई लोभमा भुलाउने अराजकता शासनको विकल्प हुन नसक्ने उल्लेख गरेका छन् ।राष्ट्रपति मुखर्जीले शक्तिमा पुग्न जनतालाई लोभ्याउने सस्तो लोकप्रियता होइन, पूरा गर्न सकिने सही बाचामात्र गर्नुपर्ने बताए । सरकार कुनै परोपकारी निकाय नभएकाले झूठा बाचाको जब मोह भंग हुन्छ, त्यसले अराजकता मात्र निम्त्याउँछ उनले भने ।
देशको सामाजिक र आर्थिक विकास घोडा दौडको गतीमा हुनुपर्ने तर्फ पनि उनले झक्झक्याएका छन् । निर्वाचन कसले जित्छ भन्ने भन्दा देशको एकता र अखण्डता बढी महत्वपूर्ण हुनेतर्फ उनले भारतीय नेताहरुको ध्यानाकर्षण गराए । देशमा बढी रहेको भ्रष्टाचारप्रति पनि उनको चिन्ता थियो ।