सिरिया सरकारद्वारा ध्वस्त सहर छाड्न अनुमति
जेनेभा, १४ माघ – सिरियामा गृहयुद्धले ध्वस्त भएको सहर होमसबाट महिला तथा बालबालिकालाई अन्यत्र सर्न सरकारले अनुमति प्रदान गरेको छ । राष्ट्रसंघ र अरब लिगका शान्तिदूत लाख्दार ब्राहिमीले यसको पुष्टि गरेका हुन् । ब्राहिमी तथा सरकारी प्रतिनिधिबीच जेनेभामा भएको छलफलबाट उक्त जानकारी बाहिरिएको हो । छलफलपछि आयोजित प्रेस सम्मेलनमा महिला, बालबालिका तथा अन्य नागरिकले पनि चाहेमा होमसबाट अन्यत्र सर्न खोज्नेलाई सरकारले स्वागत उनले बताएकाहुन् । सरकारले नजरबन्द राखेका, आवागमनमा रोक लगाइएका, कारागारका बन्दीहरू र अपहरितहरूको विषयमा पनि लामो छलफल भएको छ ।
बाहिर जान रोक लगाइएका महिला, वृद्ध तथा बालबालिकालाई फुकुवा गर्नुपर्ने जनस्तरबाट सरकारलाई अनुरोध गरिएकोमा विपक्षसँग सरकारले पछिल्लो नामावली पेस गर्न सल्लाह दिएको समेत ब्राहिमीले खुलाएका छन् । राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको करिब तीन वर्षयताको आन्दोलनमा त्यहाँ १ लाख ३० हजारभन्दा बढीको ज्यान गइसकेको छ । लाखौं नागरिक विस्थापित भई छिमेकी राष्ट्रमा शरण लिइरहेका छन् । देशभित्रै बस्नेको अवस्था पनि आन्तरिक शरणार्थीको जस्तै छ । सन् २०११ को सेप्टेम्बरदेखि सुरु भएको आन्दोलन सुरुमा शान्तिपूर्ण भए पनि गतवर्षदेखि अकल्पनीय ढंगले हिंसात्मक रूप लिएको हो । हाल त्यहाँ भारी संख्यामा सशस्त्र विद्रोहीको प्रवेश भइसकेकोले स्थिति जटिल बनेको छ । – एएफपी