बंगलादेशका पूर्व मन्त्रीलाई मृत्युदण्ड सजाय
काठमाडौँ । बंगलादेशको मुख्य इस्लामिक पार्टी जमात–ए–इस्लामी पार्टीका नेता मोतिउर रेहमान निजामीलाई हतियार तस्करी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।अदालतले जमात पार्टीका अध्यक्ष निजामीसहित अन्य १३ जनालाई भारत, असमका पृथकतावादीलाई हतियार उपलब्ध गराएको आरोपमा दोषी ठहर गरेको हो ।
सन् २००४ मा उद्योगमन्त्री रहेका बेला चटगाउँको दक्षिणी बन्दरगाहमा हतियारको गोदाम पत्ता लागेको थियो । जसमा निजामीको संलग्नता रहेको आशंका गरिएको थियो ।उनीमाथि सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा युद्ध अपराध गरेको मुद्दा समेत लागेको छ । सो मुद्दामा सुनुवाई भने हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।
बंगलादेशमा जमात पार्टीका विभिन्न नेताहरुलाई स्वतन्त्रता संग्राममा युद्ध अपराध गरेकोमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइसकिएको छ ।अदालती फैसला राजनीतिबाट प्रेरित रहेको भन्दै जमात ए इस्लामी पार्टीका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा धेरै जनाको मृत्यु भइसकेको छ ।-एजेन्सी