थाइल्यान्डमा हजारौ मतदान केन्द्र अवरूद्ध
काठमाडौं । थाइल्यान्डमा प्रतिपक्षी प्रदर्शनकारीले आइतबार हजारौं मतदान केन्द्रलाई अवरूद्ध पारेका छन् । यसबाट राजधानीमा निर्वाचनका विषयमा क्रुद्ध अवस्था सिर्जना भएको छ र मुलुक राजनीतिक अस्थिरतामा गएको छ ।प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदमुक्त गर्न प्रतिपक्षले अनेकौं साता सडकमा आमप्रदर्शन गरेपनि उनको अर्बपति परिवारले करिब एक दशक लामो शासनलाई मतपेटिकामार्फत विस्तार गर्ने देखिएको छ ।निर्वाचनमा व्यापक अवरोधको अर्थ यसको नतिजा आउन केही साता लाग्ने देखिएको छ । यसो भए पनि केहीले यसले मात्र राजनीतिक समस्या समाधान नहुने विश्वास राखेका छन् । प्रधानमन्त्री सिनावात्राका दाजु थाकसिनलाई सन् २००६ मा सेनाले पदमुक्त गरेपछि नै यो मुलुक समस्यामा परेको हो ।
प्रधानमन्त्री यिङलकका विरोधीहरूले उनी आफ्ना दाजुको कठपुतली मात्र भएको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री थाकसिन भ्रष्टाचारको आरोपमा काराबासको सजायबाट मुक्त हुन हाल दुबइमा बसोबास गरिरहेका छन् ।प्रमुख प्रतिपक्षी डेमोक्र्याट पार्टीले यस निर्वाचनलाई बहिष्कार गरेको छ । यस दलले यो निर्वाचनलाई प्रभावहीन बनाउन कानुनी प्रमाणहरू सङ्कलन गरिरहेको जानकारी दिएको छ । निर्वाचन आयोगले ९४ हजार मतदान केन्द्रमध्ये १० हजार मतदान केन्द्र खुल्न नसकेको जानकारी दिएको छ । यसले दसौं लाख जनतालाई प्रभावित बनाएको बताइएको छ ।अवरूद्ध निर्वाचनको अर्थ प्रधानमन्त्री यिङलकले विजय हासिल गरे पनि उनी कामचलाऊ प्रधानमन्त्री हुनेछिन् । यस निर्वाचनबाट आउने सांसद, संसद बोलाउन प्रर्याप्त नहुने भएकाले ती स्थानमा निर्वाचन नभएसम्म सरकारको अधिकार सीमित हुनेछ ।-एजेन्सी