इजिप्टमा सयौलाई मृत्युदण्ड
काठमाडौं , १६ वैशाख ।इजिप्टको एक अदालतले ६ सय ८३ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।मृत्युदण्डको सजायँ पाउनेमा मुस्लिम ब्रदर हुडका नेता मोहम्मद बदीसमेत छन् ।सजायँ पाउने सबै पूर्व राष्ट्रपति मोहम्मद मर्सीका समर्थक हुन् भने उनीहरुमाथि गत वर्ष एक पुलिस स्टेशनमा हमला गरेको र एक प्रहरीको मृत्युमा जिम्मेवार रहेको आरोपमा दोषि ठहर गरिएको हो ।
यसका साथै अदालतले गत मार्चमा फाँसीको सजायँ सुनाएका ५ सय २९ जनामध्ये ४ सय ९२ जनाको सजायँ आजिवन कारावासमा बदलेको छ ।
अदालतको मृत्युदण्डको फैसलाको संयुक्त राष्ट्रसंघ र मानवअधिकारकर्मीले विरोध गरेका छन् । ह्युमन राइट वाचले अदालतले आरोपी पक्षका वकिललाई बहस गर्न नदिएको आरोप लगाएको छ । राष्ट्रसंघका मानवअधिकार उच्चाधिकारी नाभी पिल्लेका प्रवक्ताले सामूहिक मुद्दाका क्रममा प्रक्रियागत त्रुटि भएको भन्दै अदालतको यो फैसलाको आलोचना गरेका छन् ।-एजेन्सी