मापसे लिन्छ प्रति १० सेकेन्डमा एकको ज्यान
काठमाडौँ । मदिराले विश्वमा प्रति वर्ष ३३ लाख मानिसको मृत्यु गराउने र यो सङ्ख्या एड्स, क्षयरोग तथा हिंसाका कारण जीवन गुमाएका व्यक्तिहरूको सङ्ख्याभन्दा अधिक रहेको तथ्य आएको छ ।विश्व स्वास्थ्य सङ्गठनले सोमबार निकालेको प्रतिवेदन अनुसार विश्वमा मदिरा उपभोगको मात्रा बढिरहेको छ ।मदिरा सेवन गरी गाडी चलाउँदा, मदिराको कारण भएका हिंसा तथा दुव्र्यवहारमा तथा मदिराका कारण लाग्ने रोग तथा शारीरिक कमजोरीका कारण विश्वमा पाँच प्रतिशत मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घको यस निकायले उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मानसिक स्वास्थ्य तथा वस्तु दुरूपयोग विभागका प्रमुख शेखर सक्सेनाले विश्वमा मदिरा सेवनकै कारण प्रति १० सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने गरेको बताए । विश्व स्वास्थ्य सङ्गठनले मदिराका कारण सन् २०१२ मा ३३ लाख व्यक्तिको मृत्यु भएको र यो कूल मृत्युको ५.९ प्रतिशत रहेको उल्लेख गरेको छ । यसमा ७.६ प्रतिशत पुरुष छन् भने महिलाको प्रतिशत चार रहेको छ ।यसको तुलनामा एचआईभी/एड्सका कारण २.८ प्रतिशत, क्षयरोगका कारण १.७ प्रतिशत तथा हिंसाका कारण ०.९ प्रतिशत मृत्यु हुने गरेको देखिएको छ ।
चीन र भारतमा बढ्दो
चीन तथा भारतमा मदिरा सेवन कम भए पनि उनीहरूका जनताको समृद्धि वृद्धि भइरहेको अवस्थामा मदिराको उपभोग पनि बढ्न थालेको देखिएको छ ।विश्व स्वास्थ्य सङ्गठनको सङ्क्रमण नहुने रोग तथा मानसिक स्वास्थ्यका प्रमुख ओलेग चेस्टनोभले मदिरा सेवनको स्वास्थ्यप्रति नकारात्मक प्रभावबाट जनतालाई जोगाउन निकै काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले मदिरा सेवन तथा त्यसको जनस्वास्थ्यमा पर्ने प्रभावका विषयमा एक व्यापक प्रतिवेदनसँगै एक विज्ञप्ति प्रकाशन गरी उक्त कुरा उल्लेख गर्नुभएको हो ।
मदिराको दुई सय प्रभाव
मदिरा सेवनका कारण स्वास्थ्यमा दुई सय प्रकारका प्रभाव पर्ने अनुमान गरिएको छ । अनियन्त्रित मदिरा सेवनले स्वास्थ्यलाई प्रभावित बनाउँछ भने विश्व स्वास्थ्य सङ्गठनले करिब १६ प्रतिशत मदिरा सेवनकर्ता अनियन्त्रित हुने गरेको उल्लेख गरेको छ ।विश्वका धनी मुलुकमा विशेष गरी युरोप तथा अमेरिकामा अनियन्त्रित मदिरा सेवनकर्ताको सङ्ख्या अधिक छ भने उदाउँदा अर्थतन्त्रमा पनि यस्ता सेवनकर्ताको सङ्ख्या बढिरहेको देखिएको छ ।हाल पनि पूर्वी युरोप तथा रसियामा अधिक मदिरा सेवन हुने गरेको देखिएको छ । सन् २०१० को तथ्याङ्क अनुसार एक रसियाली पुरुषले प्रति वर्ष ३२ लिटर मदिरा सेवन गरेको देखिएको थियो । यसपछिको स्थान युरोपेली, क्यानडाली, अमेरिकी, अस्ट्रेलियाली तथा दक्षिण अफ्रिकी नागरिकको रहेको देखिएको छ ।
विश्वमा १५ वर्ष माथिका प्रत्येक व्यक्तिले वर्षमा औसतमा ६.२ लिटर मदिरा सेवन गरेको देखिएको छ । यसो भए पनि विश्वका आधा वयस्कले कहिल्यै पनि मदिरा सेवन नगरेको बताएका छन् । करिब ६२ प्रतिशतले आफूले गत वर्ष मदिरा सेवन नगरेको बताएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।-एजेन्सी