प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी
काठमाडौं,३ जेठ । भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न निर्वाचनका ५ सय ४३ सिटमध्ये बहुमतमा भाजपा आएपछि पार्टीबाट प्रधानमन्त्री पदका प्रत्याशी नरेन्द्र मोदीले आगामी बुधबार पदीय शपथग्रहण गर्ने भएका हुन् । प्रधानमन्त्री मनमोहन सिंहले शनिबार राष्ट्रपतिसमक्ष राजीनामा दिँदैछन् ।
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्याशी बनाइएका मोदीले गुजरातको बडोदरा र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट चुनाव जितेका हुन् । उनको पार्टी भाजपा एक्लैले २ सय ८५ सिटमा चुनाव जितेको छ ।भारतीय लोकतन्त्रको इतिहासमा ३० वर्षपछि एउटै पार्टीले बहुमत ल्याएको यो दोस्रो पटक हो । यसअघि सन् १९८४ मा राजीव गान्धी नेतृत्वको भारतीय कंग्रेस पार्टीले ५ सय ८ सिटमा ४ सय १ स्थानमा जितेको थियो । त्यसबेला तेलगु देशम पार्टीले २८ सिट ल्याई प्रमुख प्रतिपक्षी बनेको थियो ।
भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाइन्स (एनडीए) ले मात्रै झन्डै ३ सय ४० सिट ल्याएको छ । यो गठबन्धनमा शिवसेना, अकाली दल, तेलगु देशम पार्टी, नागा पिपुल्स फ्रन्टसहितका साना २५ क्षेत्रीय दल छन् । तर कंग्रेस गठबन्धनको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (यूपीए) ले ६३ सिटमा मात्रै विजय हासिल गरेको छ ।
पश्चिम बंगालमा तृणमुल कंग्रेसको राम्रो प्रभाव देखिए पनि दार्जिलिङ चुनाव क्षेत्रमा भने भारतीय जनता पार्टीका एसएस अहलुयालियाले जितेका छन् । उनले थोरै मतान्तरले कंग्रेसका प्रत्याशी भाइचुङ भुटियालाई हराएका हुन् । भारतीय जनता पार्टीले गोर्खाल्यान्डको आन्दोलनलाई समर्थन गर्दै छुट्टै राज्यको नारामा साथ दिने आश्वासनले नेपालीभाषीको मत बटुल्न सकेको हो ।
उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट कंग्रेस अध्यक्ष सोनिया गान्धी र अमेठीबाट उपाध्यक्ष राहुल गान्धी विजयी भएका छन् । भाजपा अध्यक्ष राजनाथ सिंहले लखनउ क्षेत्रबाट चुनाव जितेका छन् । राजधानी दिल्लीका ७ वटै चुनाव क्षेत्रमा भाजपा विजयी भएको छ । गुजरातका पनि सबै २६ सिटमा भाजपा नै आएको छ । आम आदमीले ४, अकाली दलले ४ र शिवसेनाले १८ सिट ल्याएका छन् ।
दस वर्षदेखि सत्तामा रहेको भारतीय कंग्रेस गठबन्धनका प्रमुख मन्त्रीहरूसमेत चुनाव हार्ने सूचीमा देखिएका छन् ।
कंग्रेस गठबन्धन सरकारका मन्त्री सचिन पाइलटले राजस्थानको अजमेरबाट चुनाव हारे भने त्रिवेन्दरमपुरमबाट शशि थरुर र सोलापुरबाट गृहमन्त्री सुशीलकुमार सिन्धेले पराजय बेहोरेका छन् । भाजपाका प्रखर नेता र मोदी सरकारमा सम्भावित मन्त्री भनिएका अरुन जुट्लीले पनि पञ्जावबाट चुनाव हारेका छन् ।
समाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवले भने विजय हासिल गरेका छन् । लोकसभामा भारी मतले विजयी भएकामा प्रधानमन्त्री सिंहले मोदीलाई फोनमार्फत बधाई दिएका छन् ।
शुक्रबार अपराह्नसम्म प्राप्त मतपरिणामअनुसार उडिसा, गुजरात, राजस्थान, उत्तराखण्ड, हिमाञ्चल, तमिलनाडु, दिल्ली र जम्मु-कश्मीर राज्यमा यस पटक भारतीय कंग्रेसले एउटै सिट जित्न सकेन । केरला राज्यमा भने भाजपाको संख्या शून्य छ । यस पटक बिहार, उत्तर प्रदेशसहितका क्षेत्रमा रहेका बहुजन समाजवादी पार्टी, राष्ट्रिय समाजवादी पार्टी लगायतको क्षेत्रीय पार्टीको उपस्थिति कमजोर छ ।