ओबामाद्वारा नयाँ विदेश नीति घोषणा
काठमाडौं, १५ जेष्ठ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नयाँ विदेश नीति घोषणा गरेका छन् । जसअनुसार सहयोगी देशका साथ अगाडि बढ्ने र सामूहिक कारबाही गर्ने अमेरिकाको नयाँ नीति हुनेछ ।अमेरिकाले सधै विश्वलाई नेतृत्व गर्नुपर्ने भन्दै ओबामाले यो नेतृत्व सैन्य कारबाहीका क्रममा मात्र सीमित राख्न नहुने पनि बताए । न्यूयोर्कस्थिति सैन्य प्रतिष्ठानबाट दीक्षित हुनेहरुलाई सम्बोधन गर्दै उनले विगतमा गरिएका ठूला गल्तीबाट भने जोगिनुपर्ने धारणा राखे ।
अमेरिकी सुरक्षाका लागि सबैभन्दा बढी खतरा आतंकवादबाट रहेको भन्दै ओबामाले आतंकवादसँग लड्नका लागि पाँच अर्ब डलरको कोष बनाउने घोषणा गरे । यो रकम यमन, सोमालिया, लिबिया, माली लगायतका देशमा शान्ति सुव्यवस्था कायम गराउन सहयोगी राष्ट्रसँग मिलेर खर्चिने जानकारी दिए ।सिरियामा चलिरहेको गृहयुद्धका सम्बन्धमा राष्ट्रपति बशार अल असदका विरोधीलाई सघाउने पनि बताए । अन्तर्राष्ट्रिय सहमतिका आधारमा काम गरिने भएपनि जरुरी परेमा सैन्य हस्तक्षेप पनि गरिने ओबामाको नयाँ नीति हुनेछ ।ड्रोन विमान आक्रमणको विश्वस्तरमा आलोचना भैरहेपनि यसलाई कायमै राखिने छ भने ग्वान्तानामोस्थित अमेरिकी सैन्य जेल बन्द गरिने कोसिस कायमै रहने उनले उल्लेख गरेका छन् । -एजेन्सी