दक्षिणी सुडानमा विद्रोहीसँग युद्धविराम सम्झौता

२०७१ जेष्ठ २८ गते, बुधबार

काठमाडौं, २८ जेठ– दक्षिणी सुडानमा सरकार र विद्रोहीबीच युद्धबिराम सम्झौतामा सहमति भएको छ । दुवै पक्ष ६० दिन भित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत भएका छन् ।
इथियोपियाको अदिस अबाबामा विकासका लागि अन्तरसरकारी प्राधिकरण आइजिएडीको सम्मेलनका क्रममा दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मासारबिच यस्तो सहमति भएको हो ।
सुडानको द्वन्द्व अन्त्यमा मध्यस्तता गरिरहेको पूर्वी अफ्रिकी क्षेत्रीय संगठन आइजिएडीले दुवै पक्षले सम्झौता पालन नगरे प्रतिबन्धको चेतावनी दिएको छ । इथियोपियाका प्रधानमन्त्री हाइलेमारियम देसालेङले दुवैपक्ष सहमति कार्यान्वयनमा असफल भए आइजिएडीले दक्षिणी सुडानमा शान्ति कायम गर्ने प्रयास गर्ने र त्यस्तो अवस्थामा प्रतिबन्ध लगायतका दण्डात्मक उपाय पनि अपनाउन सक्ने बताए ।
उनले यसअघि मे ९ तारिखमा भएको युद्धबिराम सम्झौता भंग गरेकोमा दुवै पक्षको आलोचना गर्दै उनले युद्ध जारी राख्ने प्रवृत्ति देखिएको टिप्पणी पनि गरे । दक्षिणी सुडानमा चलेको द्वन्द्वको विषयमा छिमेकी मुलूकले चेतावनी जारी गरेको यो पहिलो पल्ट भएको बिबिसीले उल्लेख गरेको छ । दक्षिणी सुडानमा पछिल्लो समय चलिरहेको द्वन्द्वका कारण १३ लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]