स्वतन्त्र होला त स्कटल्याण्ड ?
काठमाडाै, २ असोज । बेलायतसँगको तीन सय वर्ष पुरानो सम्बन्ध कायम राख्ने कि स्वतन्त्र देश बनाउने भन्ने विषयमा फैसला गर्न आज स्कटल्यान्डमा ऐतिहासिक जनमतसंग्रह हुँदैछ। स्कटल्यान्डका ४२ लाख जनता यसमा सहभागी हुनेछन्।
जनमतसंग्रहअघि गरिएका विभिन्न सर्वेक्षणले स्कटल्यान्ड बेलायतबाट अलग हुने देखाएका छन्। बेलायत सरकारले भने स्कटल्यान्डलाई अधिक स्वायत्तता दिने बताउँदै स्वतन्त्र देश हुन नदिन प्रयास गरिरहेको छ। बुधबार सार्वजनिक भएका सर्वेक्षणका नतिजामा स्वतन्त्रताका पक्षमा मत बढेको देखिएको छ।
यो जनमतसंग्रहलाई विश्व समुदायले निकै महत्त्वका साथ हेरिरहेको छ। सन् २०१२ अक्टोबर १५ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले स्कटल्यान्डका फस्र्ट मिनिस्टर एलेक्स सेलमन्डसँग एडिनबर्ग एग्रिमेन्टमा हस्ताक्षर गरेका थिए। यसअनुरूप स्कटल्यान्डको संसद्लाई कानुनी रूपमा जनमतसंग्रह गर्ने अनुमति प्राप्त भएको हो।
बेलायती पत्रिका ‘डेली टेलिग्राफ’ का अनुसार स्कटल्यान्ड अलग हुनु इङ्ल्यान्डका लागि ठूलो झट्का हुनेछ। बेलायतका प्रधानमन्त्री क्यामरुन, पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन र जोन मेजरलगायतका नेताले स्वतन्त्रताको माग छोडेर अखण्ड बेलायत बनाउन अपिल गरिरहेका छन्। -एजेन्सी